काठमाडौं: कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमानामा रहेको बेम्बो केभ पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित धरहरा टप्पनमा रहेको यस स्थानमा प्राकृतिक दृश्य, फोटो खिच्न र टिकटक बनाउन आउने पर्यटकको सङ्ख्या बढ्दो छ।
आरक्ष कार्यालयका अनुसार विशेषगरी युवापुस्ता वन्यजन्तु अवलोकनका साथै बेम्बो केभको प्राकृतिक वातावरणमा रमाउन आकर्षित हुने गरेका छन्। चाडपर्वको समयमा पारिवारिक भ्रमणमा आउने पर्यटकको चहलपहल झन् बढ्ने गरेको धरहरा टप्पन पोस्टका कर्मचारी गुरुदेव मेहताले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा चर्चामा आएपछि यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक बढिरहेको छ।
आरक्षका प्रमुख तथा संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवले बेम्बो केभमा पर्यटकको आकर्षण बढ्दा आरक्षको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। आरक्षले तोकेको प्रवेश शुल्क अनुसार नेपाली नागरिकले प्रतिव्यक्ति एक सय रुपियाँ तिर्नुपर्छ। त्यस्तै सार्क राष्ट्रका नागरिकका लागि सात सय ५० रुपियाँ र अन्य विदेशीका लागि एक हजार पाँच सय रुपियाँ शुल्क कायम गरिएको छ। साना हलुका सवारीसाधनका लागि तीन सय रुपियाँको टिकट व्यवस्था छ।
हिउँदको सुरुवातसँगै कोशीटप्पुमा चरा, अर्ना र अन्य वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। वन्यजन्तु अवलोकन र बेम्बो केभको भ्रमणले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्धनमा थप सम्भावना देखाएको छ।
