काठमाडौं । छोटा भिडियोका लागि लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामले अब ९० मिनेटसम्मका लामा भिडियो पोस्ट गर्न मिल्ने सुविधा परीक्षण थालेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ फिचरमार्फत युट्युबसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेको हो ।
नयाँ सुविधाअन्तर्गत सामग्री निर्माताले इन्स्टाग्राममै पूरा पडकास्ट, विस्तृत अन्तर्वार्ता, हास्य कार्यक्रम तथा वृत्तचित्रजस्ता लामो सामग्री तेर्सो ढाँचामा राख्न सक्नेछन् । यसअघि छोटा भिडियो अर्थात् रिल्सका लागि बढी चर्चित इन्स्टाग्रामले अब लामो भिडियो सामग्रीलाई पनि प्राथमिकता दिन खोजेको हो ।
इन्स्टाग्रामले ‘क्लिप्स एज रिल्स’ नामक अर्को सुविधा पनि परीक्षण गरिरहेको छ । यसबाट सामग्री निर्माताले लामो भिडियोका छोटा अंशलाई रिल्सका रूपमा प्रस्तुत गर्न सक्नेछन् । ती रिल्स हेर्ने दर्शकलाई पूरा भिडियोसम्म पुर्याउने उद्देश्य यस सुविधाको छ । यसले छोटो भिडियोबाट दर्शक आकर्षित गरी लामो सामग्री हेर्न लगाउने इन्स्टाग्रामको रणनीतिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले यसअघि लामो भिडियोको तुलनामा छोटा सामग्रीमा जोड दिँदै आएका थिए । तर, हालै ‘कोलिन एन्ड समिर’ कार्यक्रममा बोल्दै उनले छोटा र लामा भिडियो दुवैलाई एउटै प्लेटफर्ममा प्रभावकारी रूपमा जोड्ने विषयमा काम भइरहेको बताएका छन् ।
टेकक्रन्चका अनुसार, यो सुविधा सुरुमा ब्राजिलका सीमित सामग्री निर्मातामाझ परीक्षण गरिएको थियो । अहिले अमेरिकाका केही प्रयोगकर्तामाझ पनि परीक्षण विस्तार गरिएको छ । अन्य देशका सामग्री निर्माताले भने तत्काल यो सुविधा पाउने निश्चित छैन ।
इन्स्टाग्रामले लामो भिडियो ल्याएर युट्युबको बजारमा प्रतिस्पर्धा गर्न खोजे पनि सामग्री निर्माताको आम्दानी कसरी सुनिश्चित गर्ने भन्ने विषय अझै स्पष्ट भएको छैन । युट्युबले आफ्नो साझेदार कार्यक्रमअन्तर्गत भिडियोमा देखाइने विज्ञापनबाट प्राप्त खुद आम्दानीको ५५ प्रतिशत हिस्सा सामग्री निर्मातालाई दिने व्यवस्था गरेको छ ।
इन्स्टाग्राममा भने सामग्री निर्माताको आम्दानी मुख्यतः ब्रान्डसँगको साझेदारी, सदस्यता, उपहार तथा केही प्रोत्साहन कार्यक्रमहरूमा निर्भर छ । नयाँ सुविधाअन्तर्गत पोस्ट गरिने लामो भिडियोमा विज्ञापन देखाएर आम्दानी बाँडफाँट गरिने हो वा होइन भन्नेबारे मेटाले स्पष्ट पारेको छैन । कम्पनीका प्रवक्ताले यसबारे ठोस योजना सार्वजनिक गर्न अहिले नै हतार हुने बताएका छन् ।
यसले इन्स्टाग्राममा लामो भिडियो राख्दैमा युट्युबमा जस्तै निश्चित आम्दानी हुने ग्यारेन्टी नरहेको देखाउँछ । युट्युबको बलियो भिडियो खोज प्रणाली, लामो समयदेखिको दर्शक आधार र आम्दानी बाँडफाँटको स्थापित व्यवस्थाले त्यसलाई सामग्री निर्माताको प्रमुख रोजाइका रूपमा कायम राखेको छ ।
इन्स्टाग्रामको नयाँ रणनीतिले दर्शकलाई एउटै प्लेटफर्ममा छोटा र लामा दुवै प्रकारका भिडियो हेर्ने अवसर दिनेछ । तर, युट्युबसँग प्रभावकारी प्रतिस्पर्धा गर्न उसले भिडियो राख्ने सुविधा विस्तार गरेर मात्रै पुग्दैन । सामग्री निर्मातालाई आकर्षित गर्ने भरपर्दो आम्दानीको व्यवस्था पनि आवश्यक हुनेछ।
