काठमाडौं: इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची करिडोर अन्तर्गतको बेलासे-गोलाखर्क भञ्ज्याङ सडक खण्डको ठेक्का सम्झौता तोडिएको छ। ९.५ किलोमिटर लामो उक्त सडक निर्माणका लागि कुल ६३ महिनाको समय दिइए पनि काम अधुरै रहेपछि सरकारले यस्तो निर्णय लिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार २०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँमा उक्त सडक निर्माणको सम्झौता भएको थियो। सम्झौता अनुसार २०८० पुस २९ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर पटक पटक म्याद थप गर्दा पनि कामले गति लिन सकेन। मन्त्रालयका अनुसार हालसम्म ४५.२८ प्रतिशत वित्तीय र करिब ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अलपत्र परेका ठेक्काहरू अब नचल्ने बताउँदै नयाँ प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने जानकारी दिएका छन्। उनले भने, ‘वर्षौँसम्म अलपत्र ठेक्का अब चल्दैन ! अब अलपत्र ठेक्का ताेडिनेछन्, नयाँ प्रक्रियाबाट अघि बढ्नेछन्।’ मन्त्रालयले अब आवश्यक स्रोत र बहुवर्षीय ठेक्का सहमति जुटाएर छिट्टै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
