एजेन्सी । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटर विश्वका प्रमुख अटोमोटिभ ब्रान्डमध्ये चौथो स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड परामर्शदाता संस्था इन्टरब्रान्डको ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२६’ सूचीमा हुन्डाईले आफ्नो स्थान दुई तह सुधार गर्दै चौथो स्थान हासिल गरेको हो ।
सन् २०२५ मा छैटौँ स्थानमा रहेको हुन्डाईको ब्रान्ड मूल्य अहिले २५ अर्ब अमेरिकी डलर पुगेको छ । कम्पनीले लगातार १७औँ वर्ष आफ्नो वार्षिक ब्रान्ड मूल्य बढाउन सफल भएको छ ।
हुन्डाईले विद्युतीय सवारीसाधनको बिक्रीमा भएको वृद्धि, उत्पादनको विविधीकरण तथा नयाँ प्रविधिमा गरेको लगानीलाई आफ्नो ब्रान्ड मूल्य बढ्नुको मुख्य आधार मानेको छ । विशेषगरी सफ्टवेयरमा आधारित सवारीसाधन, रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा कम्पनीले लगानी विस्तार गरिरहेको छ ।
कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोसे मुनोजले नयाँ वरीयताले हुन्डाईका सवारीसाधनप्रति विश्वभर उपभोक्ताको आकर्षण बढिरहेको देखाएको बताएका छन् । उनका अनुसार स्मार्ट मोबिलिटी र भविष्यको सवारी प्रविधि विकासमा कम्पनीले गरिरहेको कामले पनि ब्रान्डको पहिचान विस्तार गरेको छ ।
हुन्डाईको विद्युतीय सवारीसाधन बिक्री पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ । कम्पनीले सन् २०२५ मा विश्वभर ९ लाख ६१ हजार ८१२ वटा विद्युतीय तथा हाइब्रिड सवारीसाधन बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी हो ।
कुल बिक्रीमध्ये २ लाख ७५ हजारभन्दा बढी पूर्ण विद्युतीय सवारीसाधन र ६ लाख ३४ हजारभन्दा बढी हाइब्रिड गाडी थिए । सन् २०२६ को पहिलो त्रैमासमा पनि कम्पनीको विद्युतीय सवारीसाधन बिक्री १४.२ प्रतिशतले बढेर २ लाख ४२ हजार ६१२ युनिट पुगेको छ । यो अवधिमा विद्युतीय सवारीसाधनले कम्पनीको कुल विश्वव्यापी बिक्रीमा झण्डै २५ प्रतिशत हिस्सा ओगटेका छन् ।
टुक्सन हाइब्रिड, पालिसेड र आयोनिक ९ लगायतका मोडलले अन्तर्राष्ट्रिय बजारमा सुरक्षा तथा उत्कृष्ट सवारीसाधनसम्बन्धी विभिन्न पुरस्कारसमेत प्राप्त गरेका छन् ।
सवारी उत्पादनमा मात्र सीमित नरही हुन्डाईले रोबोटिक्स र एआई प्रविधिमा पनि लगानी बढाएको छ । कम्पनीले विकास गरेको ‘एटलस’ रोबोट सन् २०२८ देखि अमेरिकास्थित आफ्ना कारखानामा परिचालन गर्ने लक्ष्य राखेको छ । दक्षिण कोरियामा एनभिडियासँगको सहकार्यमा एआईमा आधारित उत्पादन प्रणाली र डेटा सेन्टर परियोजनासमेत अघि बढाइएको छ ।
त्यस्तै, लस भेगासमा स्वचालित रोबोट्याक्सी सेवाको परीक्षण सुरु गरेको कम्पनीले आफ्नै सफ्टवेयर ब्रान्ड ‘प्लियोस’ पनि सञ्चालनमा ल्याएको छ । सन् २०३० सम्म करिब दुई करोड सवारीसाधनलाई कनेक्टेड प्रविधिमा जोड्ने कम्पनीको योजना छ ।
विश्व बजारमा ब्रान्डको पहिचान विस्तार गर्न हुन्डाईले खेलकुद क्षेत्रमा पनि लगानी गरिरहेको छ । कम्पनी फिफा विश्वकप २०२६ को आधिकारिक साझेदार हो । यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोन्मेबोल लिबर्टाडोरेससँग पनि कम्पनीको प्रायोजन सम्झौता छ ।
विज्ञापन तथा सिर्जनशील अभियानतर्फ पनि हुन्डाईले अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ । कम्पनीका विज्ञापन अभियानले प्रतिष्ठित ‘कान्स लायन्स’ महोत्सवमा लगातार दोस्रो वर्ष ग्रान्ड प्रिक्स अवार्ड जितेका छन् ।
इन्टरब्रान्डले ब्रान्डको प्रत्यक्ष वित्तीय मूल्य, उपभोक्ताको खरिद निर्णयमा पर्ने प्रभाव तथा दीर्घकालीन विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमताको मूल्यांकन गरेर विश्वव्यापी ब्रान्ड वरीयता सार्वजनिक गर्दै आएको छ ।
