कोस्टारिकाको आर्थिक रूपान्तरणको कथा एउटा सानो देशले आफ्नो विकासको बाटो कसरी बदल्न सक्छ भन्ने उदाहरण हो।
कुनै समय कफी, केरा र कृषि उत्पादनको निर्यातमा निर्भर रहेको यो मध्य अमेरिकी देश अहिले चिकित्सा उपकरण, उच्च प्रविधियुक्त उत्पादन र व्यावसायिक सेवाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित भएको छ।
प्राकृतिक स्रोतको सीमितता, सानो घरेलु बजार र भौगोलिक अवस्थालाई कमजोरीका रूपमा मात्र नहेरी त्यसलाई अवसरमा बदल्ने नीतिले कोस्टारिकालाई नयाँ आर्थिक पहिचान दिएको छ।
सन् २०२५ मा कोस्टारिकाको कुल वस्तु तथा सेवा निर्यात ३५ अर्ब २४ करोड ३० लाख अमेरिकी डलर पुगेको थियो।
अघिल्लो वर्षको तुलनामा निर्यात ११ प्रतिशतले बढेको थियो। वस्तु निर्यात २२ अर्ब ७३ करोड १० लाख डलर र सेवा निर्यात १२ अर्ब ५१ करोड २० लाख डलर पुगेको थियो।
निर्यात हुने वस्तु तथा सेवामध्ये चिकित्सा उपकरण सबैभन्दा अगाडि थिए। त्यसको मूल्य १० अर्ब ८० करोड डलरभन्दा बढी थियो। कुल वस्तु तथा सेवा निर्यातमा चिकित्सा उपकरणको हिस्सा करिब ३१ प्रतिशत पुगेको थियो।
कफी र केरा निर्यातबाट चिनिएको देशले चिकित्सा उपकरण उत्पादनमा यस्तो स्थान बनाउनु सामान्य उपलब्धि होइन। यो परिवर्तन कुनै एक उद्योगको विस्तारबाट मात्र सम्भव भएको होइन।
शिक्षा, राजनीतिक स्थिरता, वैदेशिक लगानी आकर्षण, व्यापार खुलापन, औद्योगिक पूर्वाधार र दीर्घकालीन नीतिगत तयारीको संयुक्त परिणाम हो।
कृषिमा निर्भर अर्थतन्त्रको नयाँ खोज
कोस्टारिका सन् १८२१ मा स्पेनी शासनबाट स्वतन्त्र भएको थियो। त्यसपछिका दशकमा यसको अर्थतन्त्र मुख्यतः कृषि उत्पादन र निर्यातमा आधारित रह्यो।
कफी यहाँको प्रमुख निर्यात वस्तु बन्यो। पछि केरा उत्पादन र निर्यातले पनि अर्थतन्त्रमा ठूलो स्थान लियो। उन्नाइसौँ शताब्दीको मध्यदेखि कफी व्यापारले देशको आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
कृषि निर्यातले कोस्टारिकालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्यो। तर कृषि उत्पादनमा मात्र निर्भर रहँदा विश्व बजारको मूल्य उतारचढाव, मौसम, उत्पादन लागत र बाह्य मागको परिवर्तनले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने जोखिम थियो।
देशले आफ्नो आर्थिक आधार फराकिलो बनाउनुपर्ने आवश्यकता क्रमशः महसुस गर्यो।
यसका लागि कोस्टारिकाले सुरुमा सामाजिक विकास र संस्थागत स्थिरतालाई प्राथमिकता दियो।
सन् १९४८ को गृहयुद्धपछि देशले सेनाको संरचना अन्त्य गर्ने निर्णय गर्यो। सन् १९४९ को संविधानले स्थायी सेनाको व्यवस्था हटायो। सैन्य खर्चमा जाने स्रोतलाई शिक्षा, स्वास्थ्य र सामाजिक विकासतर्फ परिचालन गर्ने नीतिगत आधार तयार भयो।
सेना नराख्ने निर्णय आफैँमा आर्थिक विकासको सूत्र थिएन। तर राज्यको प्राथमिकता सुरक्षा खर्चभन्दा मानव विकास, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्ने राजनीतिक निर्णयले दीर्घकालीन प्रभाव पार्यो।
सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको विस्तारले देशमा दक्ष जनशक्ति तयार गर्ने आधार बनायो। राजनीतिक स्थिरता र संस्थागत निरन्तरताले लगानीकर्ताका लागि पनि अनुकूल वातावरण निर्माण गर्यो।
कृषिमा आधारित अर्थतन्त्रबाट उद्योग र सेवातर्फ जाने यात्रामा कोस्टारिकाले मानव पुँजीलाई प्रमुख सम्पत्तिका रूपमा विकास गर्यो। यही आधार पछि उच्च प्रविधियुक्त उद्योगका लागि उपयोगी बन्यो।
विदेशी लगानीबाट औद्योगिक छलाङ
कोस्टारिकाको आर्थिक रूपान्तरणमा विदेशी लगानी आकर्षित गर्ने रणनीतिको ठूलो भूमिका छ। सन् १९९० को दशकमा देशले अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा प्रवेश गर्ने अवसर खोज्न थाल्यो।
त्यसका लागि सरकारले लगानी प्रवर्द्धन, निर्यात सहजीकरण र औद्योगिक क्षेत्र विकासलाई प्राथमिकता दियो।
सन् १९९६ मा अमेरिकी प्रविधि कम्पनी इन्टेलले कोस्टारिकामा सूक्ष्मप्रोसेसरको संयोजन तथा परीक्षण कारखाना स्थापना गर्ने निर्णय गर्यो।
सन् १९९८ देखि सञ्चालनमा आएको उक्त परियोजना देशका लागि महत्त्वपूर्ण मोड बन्यो।
इन्टेलजस्तो बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्न सरकारले प्राविधिक जनशक्ति, पूर्वाधार, नीतिगत सुविधा र लगानीसम्बन्धी व्यवस्था सुधार गर्न सक्रिय भूमिका खेलेको थियो।
इन्टेलको निर्णय एउटा कारखाना स्थापना गर्ने विषयमा मात्र सीमित रहेन। यसले अन्य अन्तर्राष्ट्रिय कम्पनीलाई पनि कोस्टारिकामा लगानी गर्न प्रोत्साहित गर्यो।
प्रविधि, औद्योगिक सेवा र आपूर्तिसँग सम्बन्धित कम्पनीहरू देशमा आउन थाले।
सरकारले विदेशी कम्पनीलाई आकर्षित गर्नेमात्र होइन, उनीहरूको आवश्यकता पूरा गर्न स्वदेशी जनशक्ति र उद्योगको क्षमता बढाउने कामसमेत अघि बढायो।
इन्टेलले आफ्नो उत्पादन संरचना परिवर्तन गर्दै जाँदा कोस्टारिकामा अनुसन्धान, विकास र विश्वव्यापी व्यावसायिक सेवा केन्द्रसमेत विस्तार गर्यो।
यसले देशलाई सामान्य उत्पादन संयोजनबाट प्राविधिक सेवा र उच्च दक्षतायुक्त कामतर्फ अघि बढ्ने अवसर दियो।
यस प्रक्रियामा कोस्टारिकाको लगानी प्रवर्द्धन संस्था सिन्डेले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
सरकारले लगानीकर्ताको आवश्यकता बुझ्ने, उपयुक्त कम्पनी पहिचान गर्ने, प्राविधिक जनशक्ति तयार गर्ने र स्थानीय आपूर्तिकर्तालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सक्षम बनाउने कामलाई जोड दियो।
विदेशी कम्पनीलाई कर छुट दिएर मात्र लगानी भित्र्याउने होइन, उनीहरूको दीर्घकालीन सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्ने नीति अपनाइयो।
चिकित्सा उपकरण उत्पादनको विश्वव्यापी केन्द्र
इन्टेलको लगानीपछि कोस्टारिकाले उच्च प्रविधियुक्त उत्पादनको सम्भावना पहिचान गर्यो। त्यसपछि चिकित्सा उपकरण उत्पादनमा केन्द्रित उद्योग विकास हुँदै गयो।
अहिले देशको निर्यात संरचनामा चिकित्सा उपकरण सबैभन्दा महत्त्वपूर्ण उत्पादन बनेको छ।
शल्यक्रियामा प्रयोग हुने उपकरण, मुटुसम्बन्धी उपचारका सामग्री, रक्तनलीमा प्रयोग हुने उपकरण, कृत्रिम जोर्नी, क्याथेटर र अन्य स्वास्थ्य प्रविधिसम्बन्धी सामग्री कोस्टारिकामा उत्पादन हुन्छन्।
यस्ता उत्पादनको निर्माणमा उच्च गुणस्तर, कडा नियमन, दक्ष जनशक्ति र आधुनिक प्रविधि आवश्यक पर्छ। त्यसैले यो उद्योगले सामान्य उत्पादनभन्दा बढी मूल्य सिर्जना गर्छ।
सन् २०२५ मा कोस्टारिकाले १० अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी मूल्यका चिकित्सा उपकरण निर्यात गरेको थियो।
देशको कुल वस्तु निर्यातमा यसको हिस्सा करिब ४८ प्रतिशत पुगेको थियो। सन् २००७ मा यो हिस्सा करिब १२ प्रतिशत मात्र थियो।
सन् २०१७ देखि २०२५ सम्म चिकित्सा उपकरण निर्यात औसतमा वार्षिक १८ प्रतिशतले विस्तार भएको उद्योगसम्बन्धी तथ्यांकले देखाउँछ।
अहिले विश्वका प्रमुख चिकित्सा उपकरण उत्पादक कम्पनीमध्ये धेरैले कोस्टारिकामा उत्पादन केन्द्र सञ्चालन गरिरहेका छन्।
बोस्टन साइन्टिफिक, एबट, मेडट्रोनिक, ब्याक्स्टर, फिलिप्स र टेरुमोजस्ता कम्पनीको उपस्थिति छ। यसले देशलाई अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा स्थापित गरेको छ।
यो उद्योग विस्तार हुनुको अर्को महत्त्वपूर्ण कारण उत्पादनको गुणस्तर र नियामकीय मापदण्ड हो। चिकित्सा उपकरण उत्पादनमा सामान्य औद्योगिक उत्पादनजस्तो प्रक्रिया पर्याप्त हुँदैन।
उत्पादनको सुरक्षा, परीक्षण, स्वच्छता, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय प्रमाणीकरण अनिवार्य हुन्छ। कोस्टारिकाले यस्ता मापदण्ड पूरा गर्न सक्ने जनशक्ति र औद्योगिक वातावरण विकास गरेको छ।
यसले देशलाई कम लागतमा वस्तु उत्पादन गर्ने प्रतिस्पर्धाभन्दा गुणस्तर, दक्षता र विश्वसनीयताका आधारमा प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएको छ।
कृषिसँगै सेवाको निर्यात विस्तार
कोस्टारिकाको आर्थिक रूपान्तरण उत्पादन उद्योगमा मात्र सीमित छैन। देशले सेवा निर्यातलाई पनि अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनाएको छ।
सूचना प्रविधि, दूरसञ्चार, लेखा, वित्तीय सेवा, व्यावसायिक परामर्श, ग्राहक सेवा र अन्तर्राष्ट्रिय कम्पनीका प्रशासनिक काम यहाँबाट सञ्चालन हुने गरेका छन्।
पहिले पर्यटन सेवा निर्यातको प्रमुख आधार थियो। अहिले व्यावसायिक तथा सूचना प्रविधिसम्बन्धी सेवाले त्यसलाई उछिनेका छन्।
अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना लेखा, सूचना प्रविधि, ग्राहक सहायता र प्रशासनिक काम कोस्टारिकाबाट सञ्चालन गर्न थालेका छन्।
अंग्रेजी भाषामा काम गर्न सक्ने दक्ष जनशक्ति, शिक्षाको आधार र राजनीतिक स्थिरताले यस क्षेत्रमा लगानी आकर्षित गरेको छ।
सन् २०२५ मा सेवा निर्यात १२ अर्ब ५१ करोड डलर पुगेको थियो। यसले वस्तु उत्पादनसँगै ज्ञानमा आधारित सेवा पनि विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत बन्न सक्छ भन्ने देखाउँछ।
कृषि क्षेत्रलाई पनि देशले बेवास्ता गरेको छैन। कफी र केरा अझै निर्यातका महत्त्वपूर्ण वस्तु हुन्।
अनानासजस्ता कृषि उत्पादनले पनि अन्तर्राष्ट्रिय बजारमा स्थान बनाएका छन्। तर देशको आर्थिक रणनीति परम्परागत कृषि उत्पादनमै सीमित छैन।

कोस्टारिकाको पहाडी क्षेत्रमा वायु ऊर्जा आयोजना। स्रोत : Unsplash
कृषि, उद्योग र सेवाबीच सन्तुलन कायम गर्दै उच्च मूल्य सिर्जना गर्ने क्षेत्र विस्तार गरिएको छ।
यसरी कोस्टारिकाले पुरानो आर्थिक आधारलाई विस्थापित गरेर नयाँ क्षेत्र मात्र खडा गरेको होइन। परम्परागत कृषि निर्यातलाई कायम राख्दै त्यससँगै औद्योगिक उत्पादन र सेवाको नयाँ आधार थपेको हो।
स्वच्छ ऊर्जा र वातावरणमैत्री विकास
कोस्टारिकाको विकास यात्रामा वातावरणीय नीतिको पनि महत्त्वपूर्ण स्थान छ। जलविद्युत्, भू-तापीय ऊर्जा, वायु र सौर्य ऊर्जाको उपयोगबाट देशले विद्युत् उत्पादनमा नवीकरणीय स्रोतको हिस्सा उच्च बनाएको छ।
स्वच्छ ऊर्जाको उपलब्धताले उद्योग सञ्चालनको वातावरण निर्माण गर्नुका साथै अन्तर्राष्ट्रिय कम्पनीका वातावरणीय प्रतिबद्धता पूरा गर्न पनि सहयोग पुर्याएको छ।
जलविद्युत् कोस्टारिकाको विद्युत् उत्पादनको प्रमुख आधार हो। त्यससँगै भू–तापीय र वायु ऊर्जाको उपयोग पनि गरिएको छ। देशले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ।
वन संरक्षण, जैविक विविधता र प्राकृतिक स्रोतको व्यवस्थापनलाई आर्थिक विकासको नीतिसँग जोड्ने प्रयास गरिएको छ।
पर्यटन क्षेत्रमा पनि यही दृष्टिकोण देखिन्छ। कोस्टारिका प्राकृतिक सम्पदा, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र जैविक विविधताका कारण अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।
वातावरण संरक्षणलाई पर्यटन उद्योगको प्रतिस्पर्धात्मक सम्पत्तिका रूपमा विकास गरिएको छ।
यद्यपि स्वच्छ ऊर्जाको उपलब्धता र वातावरणीय नीतिका बाबजुद ऊर्जा प्रणालीमा चुनौती बाँकी छन्। जलविद्युत्मा अत्यधिक निर्भर हुँदा खडेरी र जलवायु परिवर्तनका कारण उत्पादन प्रभावित हुन सक्छ।
त्यसैले सौर्य, वायु र अन्य नवीकरणीय स्रोतको विस्तार आवश्यक रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले औँल्याएका छन्।
सफलतासँगै बाँकी चुनौती
कोस्टारिकाको आर्थिक उपलब्धि उल्लेखनीय भए पनि सबै समस्या समाधान भएका छैनन्। उच्च प्रविधियुक्त उद्योग र निर्यात प्रशोधन क्षेत्रमा केन्द्रित आर्थिक गतिविधिले देशका सबै नागरिक र व्यवसायलाई समान लाभ पुर्याउन सकेको छैन।
बहुराष्ट्रिय कम्पनीले सञ्चालन गर्ने उद्योग र देशका साना तथा मझौला व्यवसायबीच उत्पादकत्व, प्रविधि र आम्दानीको ठूलो अन्तर छ।
विदेशी कम्पनीले उच्च मूल्यका वस्तु उत्पादन गरे पनि स्थानीय उद्योगलाई उनीहरूको आपूर्ति सञ्जालमा पर्याप्त रूपमा जोड्न चुनौती छ।
यसले अर्थतन्त्रको एउटा हिस्सा विश्व बजारसँग जोडिँदा अर्को हिस्सा अपेक्षाकृत कमजोर रहने अवस्था सिर्जना गरेको छ।
शिक्षा प्रणालीले पनि नयाँ उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने दबाब सामना गरिरहेको छ। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा दक्ष जनशक्तिको माग बढेको छ।
तर श्रम बजारमा उपलब्ध सीप र उद्योगले खोजेको सीपबीच अन्तर देखिएको छ।
यातायात पूर्वाधार, बन्दरगाहको क्षमता, सडकको गुणस्तर र सार्वजनिक लगानी कार्यान्वयनमा पनि समस्या छन्। निर्यातमुखी अर्थतन्त्रका लागि उत्पादन क्षमता मात्र पर्याप्त हुँदैन।
उत्पादन समयमै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पूर्वाधार र व्यापार सहजीकरण पनि उत्तिकै आवश्यक हुन्छ।
विश्व बैंकका अनुसार सन् २०२५ मा कोस्टारिकाको गरिबी दर १५.२ प्रतिशतमा झरे पनि आय असमानता उच्च छ। आर्थिक वृद्धिको लाभ सबै भूगोल र समुदायमा समान रूपमा पुग्न सकेको छैन।
उच्च प्रविधियुक्त क्षेत्रमा रोजगारी बढे पनि अनौपचारिक श्रम, महिला श्रम सहभागिता र सीपको असमानता चुनौतीका रूपमा रहेका छन्।
यसले कोस्टारिकाको सफलतालाई पूर्ण नमुना मान्न नहुने स्पष्ट पार्छ। आर्थिक रूपान्तरणसँगै त्यसको लाभ व्यापक जनसंख्यामा पुर्याउने काम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
नेपालले के सिक्ने ?
कोस्टारिकाको अनुभव नेपालको आर्थिक विकासका लागि उपयोगी छ। दुवै देशको भौगोलिक, राजनीतिक र आर्थिक अवस्था समान छैन। कोस्टारिका समुद्री व्यापार मार्गसँग जोडिएको मध्य अमेरिकी देश हो भने नेपाल भूपरिवेष्टित छ।
तर सीमित घरेलु बजार, प्राकृतिक स्रोतको उपयोग, कृषि निर्यात, पर्यटन र दक्ष जनशक्ति विकासका विषयमा केही महत्त्वपूर्ण समानता छन्।
नेपालको अर्थतन्त्र अझै आयातमा निर्भर छ। निर्यातको दायरा सीमित छ।
कृषि उत्पादन, पर्यटन, जलविद्युत् र सेवा क्षेत्रको सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रलाई उच्च मूल्य सिर्जना गर्ने उत्पादन र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिएको छैन।
कोस्टारिकाको अनुभवले यही कमजोरी सुधार्ने बाटो देखाउँछ।
पहिलो पाठ, आर्थिक विकासका लागि शिक्षा र सीपलाई उत्पादन नीतिसँग जोड्नुपर्छ। उद्योगले खोजेको जनशक्ति तयार नगरी विदेशी लगानी आकर्षित गर्न कठिन हुन्छ।
नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षालाई उद्योगको आवश्यकताअनुसार विकास गर्नुपर्छ। विश्वविद्यालय, प्राविधिक शिक्षालय र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्छ।
दोस्रो पाठ, विदेशी लगानीलाई केवल पूँजी भित्र्याउने माध्यमका रूपमा हेर्नु हुँदैन। लगानीसँगै प्रविधि, व्यवस्थापन सीप, उत्पादन ज्ञान र स्थानीय आपूर्तिकर्ताको विकास हुनुपर्छ।
कोस्टारिकाले इन्टेलजस्तो ठूलो लगानीकर्तालाई आकर्षित गरेपछि त्यससँग सम्बन्धित अन्य उद्योग र सेवाको विकासमा पनि ध्यान दिएको थियो।
नेपालले जलविद्युत्, सूचना प्रविधि, औषधि उत्पादन, कृषि प्रशोधन र पर्यटनमा यस्तै क्षेत्रगत रणनीति बनाउन सक्छ।
तेस्रो पाठ, निर्यातलाई राष्ट्रिय आर्थिक नीतिको केन्द्रमा राख्नुपर्छ। नेपालले कच्चा कृषि उत्पादन निर्यात गर्नेभन्दा प्रशोधन, गुणस्तर सुधार, ब्रान्ड निर्माण र मूल्य अभिवृद्धिमा ध्यान दिन आवश्यक छ।
चिया, कफी, जडीबुटी, फलफूल, दुग्धजन्य उत्पादन र अन्य कृषि वस्तुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन तथा प्रशोधन गर्न सकिन्छ।
चौथो पाठ, लगानी प्रवर्द्धनका लागि स्थिर नीति र प्रभावकारी संस्थाको आवश्यकता हो। कर छुट र जग्गा उपलब्ध गराएर मात्र विदेशी लगानी आउँदैन।
विद्युत्, सडक, भन्सार, दक्ष जनशक्ति, कानुनी स्पष्टता र प्रशासनिक सहजता सुनिश्चित गर्नुपर्छ। लगानीकर्ताले लामो समयसम्म भरोसा गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक हुन्छ।
पाँचौँ पाठ, सेवा निर्यातलाई पनि अर्थतन्त्रको प्रमुख आधार बनाउन सकिन्छ। नेपालसँग सूचना प्रविधि, डिजिटल सेवा, लेखा, डिजाइन, परामर्श र अन्य व्यावसायिक सेवामा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने सम्भावना छ।
यसका लागि भाषा, प्राविधिक सीप, इन्टरनेट पूर्वाधार र अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउनुपर्छ।
कोस्टारिकाको उदाहरणले अर्को महत्त्वपूर्ण कुरा पनि सिकाउँछ। आर्थिक विकासका लागि राजनीतिक स्थिरता र संस्थागत निरन्तरता आवश्यक हुन्छ।
सरकारले हरेक पटक नीति परिवर्तन गर्ने, लगानीका प्राथमिकता बदल्ने र परियोजना अधुरै छाड्ने प्रवृत्तिले दीर्घकालीन औद्योगिक विकास सम्भव हुँदैन। देशको आर्थिक दिशा स्पष्ट हुनुपर्छ र सरकार परिवर्तन भए पनि त्यसको कार्यान्वयनमा निरन्तरता हुनुपर्छ।
कोस्टारिकाले कृषिबाट प्रविधिसम्मको यात्रा एकैपटक पूरा गरेको होइन। दशकौँसम्म शिक्षा, स्वास्थ्य, संस्था, लगानी र व्यापार नीतिमा गरेको तयारीले त्यसको आधार निर्माण गरेको हो।
एउटा ठूलो विदेशी लगानीलाई राष्ट्रिय औद्योगिक रूपान्तरणको अवसरमा बदल्ने क्षमता पनि त्यसैको परिणाम थियो।
नेपालले कोस्टारिकाको हुबहु नक्कल गर्न सक्दैन। तर आर्थिक विकासको आधार प्राकृतिक स्रोतको उपलब्धता मात्र होइन, त्यसलाई उत्पादन, सीप, प्रविधि र बजारसँग जोड्ने राज्यको क्षमता हो भन्ने पाठ लिन सक्छ।
कृषि उत्पादन बेच्ने देशबाट उच्च मूल्यका वस्तु र सेवा निर्यात गर्ने देश बन्ने बाटो नेपालका लागि पनि खुला छ। त्यसका लागि घोषणाभन्दा स्पष्ट प्राथमिकता, नीतिगत स्थिरता र कार्यान्वयनको क्षमता आवश्यक छ।
