काठमाडौं । हिमालयन बुलियन कम्पनी (एचबीसी) ले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । यसअघि ज्ञानेश्वरबाट मात्रै शुद्ध चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
कम्पनीका सञ्चालक भिष्म गौतमका अनुसार व्यवसाय विस्तार योजनाअन्तर्गत न्युरोडमा नयाँ आउटलेट खोलिएको हो । कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्नेछन् । यसका साथै कम्पनीको ‘एचबीसी एप’मार्फत खरिद गरिएको चाँदीको भौतिक संकलनसमेत न्युरोड आउटलेटबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले यसअघि घटस्थापनाको दिन ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो । उक्त एपमार्फत ग्राहकले १०, २०, ५० र १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सक्ने व्यवस्था छ ।
कम्पनीका अनुसार एपमार्फत बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले कम्पनीका आउटलेटबाट भौतिक रूपमा चाँदी संकलन गर्न सक्छन् । यसले डिजिटल माध्यमबाट खरिद प्रक्रिया पूरा गरेर आफूलाई पायक पर्ने आउटलेटबाट चाँदी प्राप्त गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
एप प्रयोगकर्तालाई खरिदको परिमाणका आधारमा स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यी श्रेणीअनुसार क्रमशः १ लाख, ५ लाख र १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
उक्त बीमा सुविधा सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा उपलब्ध गराइनेछ ।
हिमालयन बुलियनले बिक्री गर्ने चाँदीका सिक्का तथा बार ९९.९९ प्रतिशत शुद्धताको प्रमाणपत्र र बिलसहित उपलब्ध गराउने जनाएको छ । कम्पनीले दुबई र हङकङबाट चाँदीका ग्रान्युल्स आयात गर्दै आएको छ ।
सन् २००० मा स्थापना भएको कम्पनीले हालसम्म १० हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको र स्थापनादेखि १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यको चाँदी कारोबार गरेको दाबी गरेको छ ।
न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा आएसँगै कम्पनीले डिजिटल खरिद र भौतिक संकलनलाई एउटै सेवामा जोडेको छ । आगामी दिनमा अन्य प्रमुख सहरमा समेत आउटलेट विस्तार गर्ने योजनाले चाँदीको कारोबारलाई थप पहुँचयोग्य बनाउने कम्पनीको अपेक्षा छ ।
