काठमाडौं । अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधिबाट सम्मान गरिने भएको छ । रिबन इन्टरटेनमेन्टले शनिबार काठमाडौंमा आयोजना गर्ने ग्रान्ड फिनालेमा उनलाई उक्त सम्मान प्रदान गर्न लागेको हो ।
नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान, तीन दशकभन्दा लामो अभिनय यात्रा र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै निरुतालाई सम्मान गर्न लागिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिएका छन् ।
सन् १९९३ मा तुलसी घिमिरे निर्देशित चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी निरुता नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । ‘दर्पणछायाँ’, ‘आफ्नो मान्छे’, ‘आफन्त’ र ‘रहर’ उनका चर्चित चलचित्र हुन् ।
यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ उपाधिबाट सम्मान गरिसकिएको छ । यस वर्ष निरुता उक्त सम्मान प्राप्त गर्ने कलाकारको सूचीमा थपिनेछिन् ।
यसैबीच, ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को मुख्य उपाधिका लागि २२ जना विवाहित महिला प्रतिस्पर्धामा छन् । प्रतियोगीहरूले ट्यालेन्ट राउन्डमा नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुति दिएका छन् । उक्त चरणबाट छनोट हुने ‘मिसेस ट्यालेन्ट’ उपाधि विजेताको घोषणा पनि ग्रान्ड फिनालेमै गरिने आयोजकले जनाएको छ ।
निरुतालाई प्रदान गरिने मानार्थ सम्मान र प्रतियोगिताबाट छनोट हुने मुख्य विजेताको उपाधि भने फरक हुन् ।
