सुनसरी। धेरैका लागि कृषि निर्वाहको माध्यम हो। तर इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताका लागि कृषि पेसा मात्रै होइन, आम्दानी, रोजगारी र आत्मनिर्भरताको आधार बनेको छ।
तीन दशकदेखि व्यावसायिक खेतीमा रमाइरहेका मेहताले आफ्नै र भाडामा लिएको गरी १३ बिघा जमिनमा खेती गर्दै आएका छन्। कृषि कर्मबाटै उनले वार्षिक करिब ३० लाख रुपैयाँ बचत गर्ने गरेका छन्।
पुख्र्यौली रूपमा खेतीपाती गर्दै आएको परिवारका मेहताले परम्परागत खेतीलाई व्यावसायिक स्वरूप दिन थालेको तीन दशक भयो। अहिले उनको खेतमा धान, मकै र गहुँसँगै टमाटर, बोडी, काउली, बन्दाकोबी, लौका र विभिन्न सागसब्जी उत्पादन हुन्छन्। तीन बिघा आफ्नै र १० बिघा जग्गा भाडामा लिएर उनले खेती विस्तार गरेका हुन्।
मौसमअनुसार बाली परिवर्तन गर्दै खेती गर्ने उनको तरिका छ। असोज–कात्तिकमा धान भित्र्याएपछि त्यही खेतमा तरकारी लगाउने गरिएको छ। यसले जमिनलाई वर्षभरि उत्पादनमा जोड्न सहयोग पुगेको छ। खेतमा उत्पादित तरकारी इनरुवा कृषि बजार र स्थानीय बजारमा बिक्री हुन्छन्। कतिपय व्यापारी खेतमै पुगेर उत्पादन खरिद गरी लैजाने गरेका छन्।
मेहताका अनुसार तरकारी बिक्रीबाट मात्रै वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी हुन्छ। धान, मकै र अन्य कृषि उपजसमेत जोड्दा सबै खर्च कटाएर वर्षमा करिब ३० लाख रुपैयाँ बचत हुने गरेको छ।
उनको खेतीले परिवारको आम्दानी मात्र बढाएको छैन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ। नियमित तलब दिएर पाँच जना कर्मचारी राखेका उनले खेतीको काम र मौसमअनुसार दैनिक १२ देखि २० जनासम्म ज्यालादारी कामदार परिचालन गर्ने गरेका छन्। दाजुभाइ र छोराहरूसँगको सहकार्यमा उनले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्।
मेसिनले घटायो लागत र समय
व्यावसायिक खेतीलाई सहज र प्रभावकारी बनाउन मेहताले कृषि यन्त्रमा पनि लगानी गरेका छन्। उनीसँग दुईवटा कम्बाइन हार्भेस्टर, तीनवटा थ्रेसर र चारवटा ट्र्याक्टर छन्। आफ्नै मेसिनरी उपकरण हुँदा खेतीको काम छिटो हुनुका साथै अन्य किसानलाई भाडामा दिएर अतिरिक्त आम्दानीसमेत हुने गरेको छ।
उनका अनुसार एक बिघा खेतको धान मानिस लगाएर काट्दा करिब ३० हजार रुपैयाँ खर्च हुन्छ। समय पनि धेरै लाग्छ। तर कम्बाइन हार्भेस्टर प्रयोग गर्दा डेढ घण्टामै एक बिघाको धान वा गहुँ भित्र्याउन सकिन्छ।
‘भाडामा मेसिन ल्याउँदा १२ हजार रुपैयाँसम्म खर्च हुन्छ। आफ्नै मेसिन भएकाले समय र खर्च दुवै बचत भएको छ,’ उनले भने।
कृषिमा प्रविधिको प्रयोगले श्रम र उत्पादन लागत घटाउन सक्ने उनको अनुभव छ। त्यसैले परम्परागत खेतीबाट व्यावसायिकतातर्फ लाग्न चाहने किसानले आधुनिक कृषि उपकरणको प्रयोग बढाउनुपर्ने उनी बताउँछन्।
सिँचाइदेखि मल र बीउसम्म समस्या
तीन दशकको कृषि अनुभव बटुलेका मेहताका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एक सिँचाइ हो। पर्याप्त सिँचाइ सुविधा नहुँदा आफ्नै खर्चमा बोरिङ गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उनले बताए। सरकारले बोरिङ, पाइप र मोटर खरिदमा अनुदान दिनुपर्ने उनको माग छ।
अनुदान वास्तविक किसानसम्म पुग्ने गरी किसानकै बैंक खातामा रकम पठाउने व्यवस्था हुनुपर्ने उनको सुझाव छ। भाडामा जग्गा लिएर खेती गर्ने किसानलाई विद्युत् मिटर जडानमा समेत समस्या हुने गरेको उनले बताए। जग्गाधनीको लालपुर्जा नभएका कारण मिटर जडान गर्न कठिनाइ हुने भएकाले स्थानीय तहबाट सर्जमिन गरी खेती गरिरहेको प्रमाणका आधारमा विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
कृषि उत्पादनको लागत घटाउन डिजेलमा कम्तीमा ५० प्रतिशत सहुलियत दिनुपर्ने उनको माग छ। त्यसैगरी खेतीका लागि आवश्यक रासायनिक मल समयमै नपाउनु अर्को समस्या रहेको उनले बताए।
‘युरिया, डीएपी र पोटासजस्ता मल आवश्यक परेको समयमा सहजै पाइँदैन। किसानसँग पैसा हुँदा पनि मल नपाउने अवस्था छ,’ उनले भने।
मलको अभाव हुन नदिन सरकारले सहकारी तथा कृषि सामग्री वितरण गर्ने निकायमार्फत पर्याप्त मौज्दात राख्नुपर्ने उनको सुझाव छ।
गुणस्तरीय बीउको अभावका कारण छिमेकी मुलुकबाट उन्नत जातका बीउ ल्याएर खेती गर्नुपर्ने अवस्था रहेको उनले बताए। नयाँ प्रविधि र उत्पादनका विधिबारे जानकारी दिन सरकारले नियमित किसान प्रशिक्षण सञ्चालन गर्नुपर्ने उनको जोड छ।
‘हिउँदे तरकारी, बर्खे तरकारी, धान र गहुँखेतीको मौसमअनुसार वर्षमा कम्तीमा तीनदेखि चारपटक किसानलाई तालिम दिनुपर्छ,’ उनले भने। नयाँ जातका बीउ, रोग तथा कीरा व्यवस्थापन र आधुनिक खेती प्रणालीबारे जानकारी दिन सके उत्पादन बढाउन सकिने उनको विश्वास छ।
बजार र आयातसँग प्रतिस्पर्धाको चुनौती
कृषि उत्पादन गर्नु मात्रै पर्याप्त नहुने मेहताको अनुभव छ। उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्याउन नसक्दा किसानले अपेक्षित लाभ लिन नसक्ने उनले बताए। कृषि उत्पादन हुने क्षेत्रलाई बजारसँग जोड्ने सडक तथा यातायात सुविधा विस्तार गर्नुपर्ने उनको सुझाव छ।
भारतबाट आयात हुने तरकारीसँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई कठिन भइरहेको उनको भनाइ छ। उत्पादन लागत बढी हुँदा स्वदेशी तरकारी महँगो पर्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको उनले बताए। स्वदेशी उत्पादनको संरक्षणका लागि सरकारले आयात व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको माग छ।
त्यसैगरी भारतबाट आयात हुने र स्वदेशमै उत्पादन गरिएका दुवै प्रकारका तरकारीमा विषादी परीक्षण अनिवार्य गर्नुपर्ने उनले बताए। सीमा नाकादेखि कृषि बजारसम्म विषादी परीक्षण गर्ने उपकरण र प्रयोगशाला स्थापना गर्न सके उपभोक्ताको स्वास्थ्य सुरक्षा र कृषि उपजको गुणस्तर सुनिश्चित गर्न सकिने उनको धारणा छ।
मेहताको बुझाइमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना भए पनि किसानले भोगिरहेका समस्या समाधान हुन नसक्दा युवाहरू यस पेसाप्रति आकर्षित हुन सकेका छैनन्। सहुलियत ऋण, अनुदान, गुणस्तरीय बीउ, मल, सिँचाइ र बजारको सुनिश्चितता गर्न सके कृषि क्षेत्रमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनी बताउँछन्।
‘सहुलियत ऋण, अनुदान, मल, बीउ, सिँचाइ र बजारको उचित व्यवस्था गरिदिए युवाले विदेश जानुपर्ने बाध्यता कम हुन्थ्यो,’ उनले भने।
तीन दशकको अनुभवले मेहतालाई एउटा निष्कर्षमा पुर्याएको छ– मेहनत, प्रविधि र उचित बजारको व्यवस्था हुने हो भने कृषि नेपालमै राम्रो आम्दानी र रोजगारीको भरपर्दो आधार बन्न सक्छ। उनको आफ्नै खेत त्यसको एउटा उदाहरण बनेको छ।
