काठमाडौं । नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डले कात्तिक १९ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १७ लाख कित्ता सेयर निष्कासन गर्न अन्तिम स्वीकृति दिएको हो। स्वीकृतिअनुसार कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। धितोपत्र बोर्डबाट अन्तिम अनुमति पाएसँगै कम्पनीले निष्कासनको मिति तय गरी बिक्री प्रक्रिया अघि बढाउनेछ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्नेछ। त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ।
यससँगै कान्तिपुर फर्मास्युटिकल्स पनि सर्वसाधारणबाट पुँजी जुटाउने प्रक्रियामा अघि बढेको छ।
