एजेन्सी । प्रविधि कम्पनी एप्पलले अनपेक्षित रूपमा काम गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टहरू आफ्नो व्यवसाय, कानुनी सुरक्षा र ब्रान्डको प्रतिष्ठाका लागि नयाँ जोखिम बन्न सक्ने चेतावनी दिएको छ।
कम्पनीले मंगलबार नियामक निकायमा पेस गरेको वार्षिक वित्तीय विवरणमा स्वायत्त एआई एजेन्टबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे उल्लेख गरेको हो। एआई एजेन्टले स्वचालित रूपमा निर्णय लिएर काम गर्दा अनुमति नलिएका आन्तरिक तथा बाह्य प्रणालीमा पहुँच पुर्याउन, कोड परिवर्तन गर्न, इमेल तथा सन्देश पठाउन र आर्थिक कारोबारसमेत गर्न सक्ने एप्पलको विश्लेषण छ।
यस्ता गतिविधि प्रयोगकर्ताको निर्देशन वा अनुमतिबिना हुन सक्ने भएकाले कम्पनी कानुनी विवादमा पर्नुका साथै ब्रान्डको प्रतिष्ठामा समेत क्षति पुग्न सक्ने एप्पलले जनाएको छ। तेस्रो पक्षले विकास गरेका एआई एजेन्टको गतिविधि पूर्ण रूपमा निगरानी र नियन्त्रण गर्न आफ्नो क्षमता सीमित हुन सक्ने पनि कम्पनीको भनाइ छ।
पछिल्लो समय सिलिकन भ्यालीका प्रमुख प्रविधि कम्पनीहरू स्वचालित रूपमा जटिल काम गर्न सक्ने एआई एजेन्ट विकासमा केन्द्रित छन्। यसै वर्ष ओपनएआईले ‘डट्स’ र मेटाले ‘म्युज’ जस्ता उन्नत एआई एजेन्ट बजारमा ल्याएका छन्। यस्ता प्रणालीले मानवीय निर्देशनबिना नै विभिन्न काम पूरा गर्न सक्ने क्षमता राख्छन्।
तर, केही एआई एजेन्टले सुरक्षा घेरा तोडेर अन्य डिजिटल प्रणालीमा अनधिकृत पहुँच बनाएका घटना सार्वजनिक भएपछि नियामक निकाय र नीति निर्माताहरूको चिन्ता बढेको छ। अमेजन र जेपी मोर्गन चेजजस्ता ठूला संस्थाले पनि सुरक्षालाई ध्यानमा राख्दै एआई एजेन्टको पहुँचसम्बन्धी कडा नीति बनाउन थालेका छन्।
एप्पलले पनि आफ्ना म्याक कम्प्युटरमा एआई एजेन्टको अत्यधिक पहुँचबाट हुन सक्ने जोखिम कम गर्न हालै ‘फुल डिस्क एक्सेस’ नीतिमा परिवर्तन गरेको थियो।
यसैबीच, एप्पलका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले आम्दानी समीक्षासम्बन्धी बैठकमा एआई एजेन्ट प्रयोगकर्ताका लागि उपयोगी औजार भए पनि सुरक्षा र गोपनीयता सुनिश्चित गर्नु पहिलो सर्त भएको बताएका छन्। कम्पनीले आफ्नो भर्चुअल सहायक ‘सिरी’को क्षमता विस्तार गर्ने सम्भावना देखेको भए पनि प्रयोगकर्ताको गोप्य विवरणको सुरक्षा मुख्य प्राथमिकता रहने उनको भनाइ छ।
स्मार्टफोनमा व्यक्तिगत सम्पर्क, स्वास्थ्य, वित्तीय कारोबार र सञ्चारसम्बन्धी संवेदनशील विवरण रहने भएकाले सिरीमार्फत उपलब्ध गराइने सेवा ती विवरण सुरक्षित रहने सुनिश्चिततापछि मात्रै विस्तार गरिने टर्नसले बताएका छन्। बजारमा रहेका अन्य व्यावसायिक एआई एजेन्टले इमेललगायत विभिन्न खातामा उच्च तहको पहुँच माग्ने गरेको उल्लेख गर्दै उनले उपकरणभित्रै प्रयोगकर्ताको विवरण सुरक्षित राख्ने एप्पलको अभ्यासलाई फरक पहिचानका रूपमा प्रस्तुत गरेका छन्।
एप्पलले एआई र ‘सुपर इन्टेलिजेन्स’ सम्बन्धी विश्वव्यापी नियम तथा कानुन तीव्र गतिमा परिवर्तन भइरहेकाले तिनको पालना गर्न ठूलो आर्थिक लागत लाग्न सक्ने जोखिम पनि औंल्याएको छ। स्वचालन र एआईको बढ्दो प्रयोगले निम्त्याउन सक्ने सामाजिक तथा नैतिक चिन्ता र त्यसले उपभोक्तामा पार्ने नकारात्मक धारणाले समेत कम्पनीको व्यवसाय प्रभावित हुन सक्ने एप्पलको निष्कर्ष छ।
