काठमाडौं: तनहुँमा दुई लाख ६१ हजार एक सय १२ वटा पशुपन्छी तथा जलचरको बीमा गरिएको छ। पशुपालनमा हुने जोखिम न्यूनीकरण गरी किसानलाई आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत उक्त संख्यामा बीमा गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जनाएको छ।
कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छीको कुल बीमित मूल्य ६८ करोड ९३ लाख ४२ हजार चार सय २८ रुपैयाँ पुगेको छ। यसका लागि तीन करोड २२ लाख ९३ हजार आठ सय ९० रुपैयाँ प्रिमियम शुल्क निर्धारण भएकामा किसानले ६४ लाख ५० हजार सात सय ७९ रुपैयाँ व्यहोरेका छन्।
तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै एक लाख ५२ हजार एक सय ४७ कुखुराको बीमा गरिएको छ, जसको बीमित मूल्य १० करोड ४५ लाख ९० हजार छ सय ८१ रुपैयाँ छ। त्यसैगरी, ९८ हजार पाँच सय माछाको २५ लाख २४ हजार रुपैयाँ बराबरको बीमा गरिएको छ।
यस्तै, चार हजार ९१ गाईको ३० करोड ९६ लाख ५२ हजार रुपैयाँ, एक हजार नौ सय ७० भैँसीको १५ करोड १७ लाख १४ हजार रुपैयाँ, तीन हजार चार सय १२ बाख्राको छ करोड ८३ लाख ७४ हजार सात सय ४७ रुपैयाँ र नौ सय ८९ बङ्गुरको पाँच करोड १८ लाख ८१ हजार रुपैयाँको बीमा भएको छ। जिल्लामा तीनवटा घोडा-खच्चरको समेत ६ लाख रुपैयाँ बराबरको बीमा गरिएको कार्यालयले जनाएको छ।
पशु बीमाले रोग, दुर्घटना वा अन्य बीमालेखमा समेटिएका कारणले क्षति हुँदा किसानलाई आर्थिक राहत प्रदान गर्ने गर्छ। विशेषगरी गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछापालक किसानका लागि यो कार्यक्रम उपयोगी बनेको ठकुरीले बताए।
