काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन आइफोन डुओ फुटेमा मर्मत गर्न १ हजार ४९९ अमेरिकी डलरसम्म खर्च लाग्ने भएको छ। नेपाली बजारमा ४ लाख ३० हजार ९०० रुपैयाँदेखि उपलब्ध यो फोनको भित्री स्क्रिन फेर्न मात्रै ९९९ डलर लाग्छ।
एप्पलले सार्वजनिक गरेको मर्मत शुल्कअनुसार बाहिरी स्क्रिन फेर्न ३७९ डलर, पछाडिको सिसा फेर्न १९९ डलर तथा ब्याट्री र पछाडिको क्यामेरा मर्मत गर्न २२९–२२९ डलर लाग्छ। बाहिरी स्क्रिन र पछाडिको सिसा दुवै फुटेमा ५०९ डलर खर्च हुन्छ।
अमेरिकामा आइफोन डुओको सुरुवाती मूल्य १ हजार ९९९ डलर छ। फोनको गम्भीर क्षतिको मर्मत खर्च यसको सुरुवाती मूल्यको करिब ७५ प्रतिशतसम्म पुग्न सक्छ।
मर्मत खर्च कम गर्न एप्पलले एप्पलकेयर प्लस सेवा पनि उपलब्ध गराएको छ। अमेरिकामा यसको मासिक शुल्क १९.९९ डलर र एकमुष्ट शुल्क ३९९ डलर छ। फोन खस्दा वा दुर्घटनावश स्क्रिन फुट्दा सामान्य एक वर्षे वारेन्टीले यस्तो क्षति समेट्दैन।
