बेलायती लेखक एम. जोन ह्यारिसनले उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’ का लागि ५० हजार पाउन्ड राशिको प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा पुरस्कार जितेसँगै उनी बुकरको इतिहासमा यो सम्मान पाउने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्।
सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई पुरस्कार प्रदान गरिएको हो। ह्यारिसन करिब ६० वर्षदेखि लेखनमा सक्रिय छन् र उनका पाठकको छुट्टै समूह छ।
‘द एन्ड अफ एभ्रिथिङ’ रहस्यमय प्रकोपपछि पूर्ण रूपमा परिवर्तन भएको बेलायती समाजको कथा हो। उपन्यासको विषयवस्तु र प्रस्तुतिलाई लिएर पाठक तथा समीक्षकका धारणा भने विभाजित छन्। समीक्षकहरूले यसलाई ‘उदासीपूर्ण तर उत्कृष्ट’ र ‘स्वप्निल तथा अन्योलपूर्ण’ कृतिका रूपमा व्याख्या गरेका छन्।
बुकर पुरस्कार निर्णायक मण्डलकी अध्यक्ष डेम मेरी बियर्डले उपन्यास पढ्न चुनौतीपूर्ण भए पनि यो महान् साहित्यको उदाहरण भएको बताइन्। पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण दिनुका साथै मुस्कुराउने कारण पनि दिने उनको भनाइ छ। कथाको विषयवस्तु गम्भीर भए पनि उपन्यासले पाठकको मनमा आशाको किरण छाड्ने उनले बताइन्।
