एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यससँग जोडिएको विश्वव्यापी जोखिमबीच भारतीय रुपैयाँ एसियाकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बनेको छ। चालु आर्थिक वर्ष २०२६/२७ मा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ०.९७ प्रतिशतले बलियो भएको छ। कच्चा तेलको मूल्यमा आएको गिरावट र विदेशी लगानीकर्ताको बढ्दो लगानीले भारतीय मुद्रालाई थप टेवा दिएको विश्लेषकहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा एआई केन्द्रित लगानीको जोखिम बढिरहेका बेला भारतलाई लगानीको तुलनात्मक रूपमा सुरक्षित विकल्पका रूपमा हेरिएको छ। यही कारण भारतीय बजारमा विदेशी लगानीकर्ताको आकर्षण बढेको र त्यसको सकारात्मक प्रभाव भारुमा परेको विश्लेषण गरिएको छ। पछिल्लो समय कच्चा तेलको मूल्य उच्च विन्दुबाट करिब २० प्रतिशतले घट्नुले पनि भारतलाई राहत दिएको छ। तेल आयातमा ठूलो रकम खर्च गर्ने भारतका लागि मूल्य घट्नुले विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सहयोग पुगेको छ।
ब्लुमबर्गको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा भारतीय रुपैयाँ ०.९७ प्रतिशतले उकालो लागेको छ। यसको विपरीत इन्डोनेसियाली रुपिया ६.२४ प्रतिशतले कमजोर हुँदै एसियाली मुद्रामध्ये सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्राको सूचीमा परेको छ। यसअघि चालु आर्थिक वर्षका पहिलो दुई त्रैमासमा अमेरिकी डलरको तुलनामा कमजोर देखिएको भारतीय रुपैयाँले पछिल्लो समय उल्लेख्य सुधार गरेको हो।
भारतीय सेयर बजारमा विदेशी पोर्टफोलियो लगानीकर्ताको प्रवेश बढ्नु पनि भारु बलियो हुनुको अर्को कारण बनेको छ। गत साता मात्रै विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा खुद ३८ हजार ९७१ करोड भारु लगानी गरेका थिए। त्यसमध्ये ३८ हजार ५०० करोड भारु दोस्रो बजारबाट सेयर खरिदमा खर्च भएको थियो। विदेशी लगानी बढ्दा भारुको माग बढ्ने र त्यसले विनिमय दरमा सकारात्मक प्रभाव पार्ने गर्छ।
आईडीएफसी फर्स्ट बैंककी प्रमुख अर्थशास्त्री गौरा सेनगुप्ताका अनुसार अमेरिका र इरानबीचको तनाव कम भएमा वा एआई कम्पनीका सेयरमा थप गिरावट आएमा छोटो अवधिमै भारतीय रुपैयाँ अझ बलियो हुन सक्छ। अन्तर्राष्ट्रिय राजनीतिक तनाव र प्रविधि क्षेत्रमा लगानीको उतारचढावले विश्व बजारमा पुँजीको प्रवाह परिवर्तन गरिरहेका बेला भारतले त्यसबाट लाभ लिन सक्ने उनको विश्लेषण छ।
सोमबार अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ९३.९२ मा कारोबार बन्द भएको थियो। गत आर्थिक वर्षको अन्त्यमा एक डलर बराबर ९४.८३ भारु रहेको थियो। गत मे महिनामा भारु एक डलर बराबर ९६.९६ सम्म झरेर ऐतिहासिक न्यून विन्दुमा पुगेको थियो। अक्टोबरमा ९७ को मनोवैज्ञानिक सीमासमेत पार गर्ने जोखिम देखिएको अवस्थामा पछिल्लो सुधारलाई भारतीय मुद्राको उल्लेखनीय पुनरागमनका रूपमा हेरिएको छ।
तर भारु अझै कति बलियो हुन्छ भन्ने कुरा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को नीतिमा पनि निर्भर रहनेछ। सोमबार भारु तीव्र गतिमा बलियो हुन नदिन आरबीआईले बजारमा डलर खरिद गरेर हस्तक्षेप गरेको मुद्रा बजारका कारोबारीहरूले बताएका छन्। केन्द्रीय बैंकले डलर खरिद गर्दा बजारमा डलरको आपूर्ति घट्ने र भारुको अत्यधिक मूल्यवृद्धि नियन्त्रणमा रहने गर्छ।
सेप्टेम्बर २०२६ सम्म आरबीआईको फर्वार्ड बुकमा २३९ अर्ब डलरको खुद सर्ट पोजिसन रहेको तथ्याङ्क छ। त्यसैले केन्द्रीय बैंकले भारुलाई अत्यधिक बलियो हुन दिनुभन्दा विदेशी मुद्रा सञ्चिति बढाउने र बजारको उतारचढाव नियन्त्रण गर्ने रणनीति लिन सक्ने अर्थशास्त्रीहरूको अनुमान छ।
कोटक सेक्युरिटिजका मुद्रा अनुसन्धान प्रमुख अनिन्द्य बनर्जीका अनुसार विदेशी लगानीको प्रवाह निरन्तर रहे र कच्चा तेलको मूल्य फेरि नबढे निकट भविष्यमै भारतीय रुपैयाँ एक डलर बराबर ९२.५० देखि ९२.७५ सम्म बलियो हुन सक्छ। यद्यपि, तेलको मूल्य, विदेशी लगानीको प्रवाह, अमेरिकी डलरको अवस्था र केन्द्रीय बैंकको हस्तक्षेपले भारुको आगामी दिशा निर्धारण गर्नेछ।
