मोरक्कोको आर्थिक रूपान्तरणको कथा केवल पर्यटन, सुन्तला वा समुद्री तटको आकर्षणमा सीमित छैन। केही दशकअघिसम्म कृषि, फस्फेट र परम्परागत उत्पादनमा निर्भर रहेको यो उत्तर अफ्रिकी देशले योजनाबद्ध औद्योगिक नीति, विदेशी लगानी, बन्दरगाह पूर्वाधार र अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमार्फत आफ्नो अर्थतन्त्रको संरचना बदल्ने प्रयास गरेको छ।
आज मोरक्को अफ्रिकाको प्रमुख अटोमोबाइल उत्पादन तथा निर्यात केन्द्रमध्ये एक बनेको छ। युरोपेली बजारलाई लक्षित गरेर कार, विद्युतीय सवारीका पार्टपुर्जा, तारजडान प्रणाली र अन्य औद्योगिक सामग्री उत्पादन भइरहेको छ।
एरोस्पेस उद्योगमा पनि अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलासँग जोडिएका कम्पनीको उपस्थिति बढेको छ। ट्याङ्गियर–मेडजस्तो विशाल बन्दरगाहले देशलाई युरोप, अफ्रिका, एसिया र अमेरिकाबीचको व्यापारिक मार्गमा महत्त्वपूर्ण स्थान दिएको छ।
यो परिवर्तन एकैपटक आएको होइन। पूर्वाधार निर्माण, लगानीमैत्री नीति, औद्योगिक क्षेत्र विकास, सीपमूलक जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई एकसाथ अघि बढाउने रणनीतिले मोरक्कोको औद्योगिक आधार बलियो बनाएको हो।
तर बेरोजगारी, क्षेत्रीय असमानता, पानीको अभाव र आयातित प्रविधिमा निर्भरता अझै चुनौतीका रूपमा छन्।
एउटा बन्दरगाह, जसले औद्योगिक भूगोल बदल्यो
मोरक्कोको औद्योगिक रूपान्तरण बुझ्न ट्याङ्गियर-मेड बन्दरगाहको विकास हेर्नुपर्छ। जिब्राल्टर जलडमरूमध्य नजिक रहेको यो बन्दरगाह युरोप र अफ्रिकालाई जोड्ने महत्त्वपूर्ण समुद्री मार्गमा पर्छ।
यसको भौगोलिक अवस्थिति आफैँमा ठूलो सम्भावना थियो। तर मोरक्कोले त्यसलाई व्यापारिक लाभमा बदल्न बन्दरगाहसँगै औद्योगिक क्षेत्र, गोदाम, भन्सार, सडक, रेल र आपूर्ति शृङ्खलाका सेवा विकास गर्यो।
ट्याङ्गियर-मेड केवल सामान आयात-निर्यात गर्ने समुद्री ढोका होइन। यसको वरिपरि अटोमोबाइल उद्योग, पार्टपुर्जा उत्पादन, भण्डारण, ढुवानी र अन्य औद्योगिक सेवा विस्तार भएका छन्। यसले विदेशी कम्पनीलाई एउटै क्षेत्रमा उत्पादन, आपूर्ति र निर्यातको सुविधा उपलब्ध गराएको छ।
बन्दरगाह प्राधिकरणका अनुसार सन् २०२४ मा ट्याङ्गियर-मेडले १ करोड २४ हजारभन्दा बढी कन्टेनर सम्हालेको थियो। सन् २०२५ मा यो संख्या बढेर १ करोड ११ लाख ६ हजार १६४ टीईयू पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४ प्रतिशत बढी हो। सन् २०२५ मा बन्दरगाहबाट १६ करोड १० लाख टन कार्गो आवागमन भएको थियो।
यसको महत्त्व केवल कन्टेनरको संख्यामा छैन। सन् २०२५ मा औद्योगिक तथा कृषि–खाद्य वस्तु बोकेका ट्रकको आवागमन पनि बढेको थियो। बन्दरगाहले सवारीसाधन निर्यातका लागि छुट्टै टर्मिनल सञ्चालन गरेको छ। यही टर्मिनलबाट रेनो र स्टेलान्टिसका कार युरोपलगायत विभिन्न बजारमा पठाइन्छन्।
ट्याङ्गियर–मेडको विकासले एउटा महत्त्वपूर्ण आर्थिक सिद्धान्त देखाउँछ—बन्दरगाह बनाउनु र बन्दरगाहलाई उत्पादनसँग जोड्नु फरक कुरा हुन्। मोरक्कोले बन्दरगाहसँगै उद्योग र आपूर्ति शृङ्खलाको पूर्वाधार विकास गरेपछि त्यसले निर्यातमुखी उत्पादनलाई आकर्षित गर्न सकेको हो।
रेनो र स्टेलान्टिसले बनाएको अटोमोबाइल इकोसिस्टम
मोरक्कोको औद्योगिक सफलताको सबैभन्दा देखिने उदाहरण अटोमोबाइल क्षेत्र हो। युरोपेली बजारसँग भौगोलिक निकटता, प्रतिस्पर्धी उत्पादन लागत, बन्दरगाह सुविधा र औद्योगिक नीतिले विश्वका प्रमुख कार निर्माता कम्पनीलाई मोरक्को आकर्षित गरेको छ।
फ्रान्सेली कम्पनी रेनो ग्रुप मोरक्कोको अटोमोबाइल उद्योग विकासमा प्रमुख साझेदार बनेको छ। कम्पनीले ट्याङ्गियर र कासाब्लान्कामा उत्पादन केन्द्र स्थापना गरेर स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलासँग जोडेको छ।
ट्याङ्गियरस्थित रेनो कारखाना सन् २०१२ मा उद्घाटन भएको थियो। कम्पनीका अनुसार यसले डासिया स्यान्डेरो, डासिया जोगर र रेनो एक्सप्रेसजस्ता मोडल उत्पादन गर्छ।
रेनोको उपस्थिति एउटा कारखानामा मात्र सीमित छैन। त्यसको वरिपरि तारजडान प्रणाली, सिट, च्यासिस, धातुका पार्टपुर्जा, प्लास्टिक सामग्री, विद्युतीय उपकरण र अन्य सामग्री उत्पादन गर्ने आपूर्तिकर्ता कम्पनी स्थापना भएका छन्। यसले एउटा ठूलो औद्योगिक सञ्जाल निर्माण गरेको छ।
रेनो ग्रुपका अनुसार सन् २०२५ मा मोरक्कोका उसका उत्पादन केन्द्रबाट ३ लाख ९४ हजारभन्दा बढी सवारीसाधन उत्पादन भएका थिए। कम्पनीका मोरक्कोस्थित उत्पादनको करिब ८२ प्रतिशत ६३ वटा गन्तव्यमा निर्यात भएको थियो।
रेनोले मोरक्कोलाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको दोस्रो ठूलो औद्योगिक आधारका रूपमा वर्णन गरेको छ।
अर्को महत्त्वपूर्ण कम्पनी स्टेलान्टिस हो। यसले केनित्रास्थित कारखानामार्फत मोरक्कोको उत्पादन क्षमता बढाएको छ। सन् २०२५ मा कम्पनीले त्यहाँ करिब १.२ अर्ब युरो लगानी गरी उत्पादन क्षमता विस्तार गर्ने योजना अघि सारेको थियो।
विस्तारपछि कारखानाको वार्षिक उत्पादन क्षमता ५ लाख ३५ हजार सवारीसाधनसम्म पुर्याउने लक्ष्य राखिएको थियो। साना विद्युतीय सवारी, हाइब्रिड इन्जिन र अन्य सवारीसाधन उत्पादनमा पनि जोड दिइएको छ।
मोरक्कोको अटोमोबाइल उद्योगले सवारीसाधन मात्रै उत्पादन गर्दैन। यसको वास्तविक शक्ति स्थानीय आपूर्तिकर्ता र सहायक उद्योगको विस्तारमा छ। कार उत्पादनमा प्रयोग हुने तार, सिट, धातु, प्लास्टिक, इलेक्ट्रोनिक उपकरण र अन्य सामग्रीको ठूलो हिस्सा स्थानीय उद्योगबाट आपूर्ति हुन थालेको छ।
कासाब्लान्का-सेत्तात क्षेत्रीय लगानी केन्द्रका अनुसार मोरक्कोको अटोमोबाइल क्षेत्रमा २५० भन्दा बढी कम्पनी आबद्ध छन्। सन् २०२४ मा यस क्षेत्रको निर्यात १५७ अर्ब दिरहमभन्दा बढी पुगेको थियो र करिब २ लाख २० हजार रोजगारी सिर्जना भएको उल्लेख छ।
सन् २०३० सम्म स्थानीय सामग्रीको हिस्सा ८० प्रतिशत पुर्याउने र वार्षिक उत्पादन क्षमता २० लाख सवारीसाधन बनाउने लक्ष्य राखिएको छ।
यसले मोरक्कोको औद्योगिक नीतिको मूल रणनीति देखाउँछ। एउटा बहुराष्ट्रिय कम्पनीलाई कारखाना खोल्न प्रोत्साहन गर्नु पहिलो चरण हो। त्यसपछि त्यसलाई आवश्यक सामग्री उत्पादन गर्ने स्थानीय कम्पनी, तालिम केन्द्र, प्राविधिक जनशक्ति, ढुवानी सेवा र निर्यात प्रणाली विकास गर्नु दोस्रो चरण हो। मोरक्कोले यही दोस्रो चरणमा पनि लगानी गरेको छ।
कारखानाबाट सीप र रोजगारीसम्म
औद्योगिक लगानी टिकाउन सस्तो श्रम मात्र पर्याप्त हुँदैन। दक्ष प्राविधिक, उत्पादन व्यवस्थापक, इन्जिनियर, गुणस्तर निरीक्षक र मेसिन सञ्चालन गर्ने जनशक्ति आवश्यक हुन्छ। मोरक्कोले अटोमोबाइल उद्योगसँग जोडेर व्यावसायिक तालिमको व्यवस्था गरेको छ।
ट्याङ्गियरस्थित अटोमोबाइल उद्योग तालिम संस्थानले कारखानालाई आवश्यक पर्ने सीपमूलक जनशक्ति तयार गर्न सहयोग गरेको छ। ट्याङ्गियर-मेडको विवरणअनुसार सन् २०१२ मा उद्घाटन गरिएको उक्त संस्थाबाट ६ हजार ५०० भन्दा बढी कर्मचारीले तालिम प्राप्त गरेका थिए।
रेनो ग्रुपले सन् २०२६ मा प्रकाशित विवरणमा आफ्नो मोरक्कोस्थित तालिम संस्थामार्फत औद्योगिक सीप, स्वचालन, रोबोटिक्स र विद्युतीकरणसम्बन्धी तालिम विस्तार गरिएको उल्लेख गरेको छ।
यसले औद्योगिक लगानी र शिक्षा प्रणालीबीचको सम्बन्धलाई बलियो बनाएको छ। उद्योगलाई चाहिने सीप पाठ्यक्रममा समेट्ने, विद्यार्थीलाई कारखानासँग जोड्ने र उत्पादन प्रक्रियामै तालिम दिने मोडलले जनशक्तिको गुणस्तर सुधार गर्न सक्छ।
तर औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना हुनु र देशको समग्र बेरोजगारी समस्या समाधान हुनु एउटै कुरा होइन। मोरक्कोमा उद्योग र सेवा क्षेत्र विस्तार भइरहँदा पनि युवा बेरोजगारी उच्च छ। महिला श्रम सहभागिता कमजोर छ। औद्योगिक क्षेत्रको विकास मुख्यतः केही सहरी तथा तटीय क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण भेगका नागरिकले समान अवसर पाएका छैनन्।
विश्व बैंकका अनुसार सन् २०२५ मा मोरक्कोको समग्र बेरोजगारी दर करिब १३ प्रतिशत थियो। १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर ३७.३ प्रतिशत पुगेको थियो। यसले उत्पादन र निर्यातमा सफलता हासिल गरे पनि त्यसको लाभ पर्याप्त रोजगारीका रूपमा सबै युवासम्म पुग्न नसकेको देखाउँछ।
एरोस्पेस उद्योगमा नयाँ उडान
मोरक्कोको औद्योगिक रणनीति कार उद्योगमा मात्र सीमित छैन। पछिल्ला वर्षमा देशले एरोस्पेस अर्थात् विमान तथा अन्तरिक्षसम्बन्धी उद्योगमा पनि आफ्नो स्थान विस्तार गरेको छ।
विमानका तारजडान प्रणाली, इन्जिनका पार्टपुर्जा, संरचनात्मक सामग्री, उपकरण जडान र मर्मतसम्भारका क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन तथा सेवा केन्द्र स्थापना गरेका छन्।
यो क्षेत्र अटोमोबाइलभन्दा प्राविधिक रूपमा जटिल छ। विमान उद्योगमा उत्पादन गर्न उच्च गुणस्तर, सुरक्षा मापदण्ड, प्रमाणित आपूर्ति प्रणाली र दक्ष इन्जिनियर आवश्यक हुन्छन्। मोरक्कोले यस्ता मापदण्ड पूरा गर्न तालिम, औद्योगिक पूर्वाधार र अन्तर्राष्ट्रिय साझेदारीमा लगानी गरेको छ।
अमेरिकी वाणिज्य विभागको सन् २०२५ को देशगत व्यावसायिक विवरणअनुसार सन् २०२४ को अन्त्यसम्म मोरक्कोको एरोनटिक्स इकोसिस्टममा करिब १५० कम्पनी सक्रिय थिए।
यस क्षेत्रको निर्यात कारोबार करिब २.६ अर्ब अमेरिकी डलर पुगेको र प्रत्यक्ष रोजगारी करिब १७ हजार रहेको उल्लेख छ। सन् २०२४ मा एरोस्पेस निर्यात अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशत बढेको थियो।
यस क्षेत्रमा बोइङ र कलिन्स एरोस्पेस जस्ता अन्तर्राष्ट्रिय कम्पनीसँगको सहकार्यले मोरक्कोको औद्योगिक क्षमता विस्तारमा सहयोग पुर्याएको छ। यसले देशलाई कम लागतमा उत्पादन गर्ने स्थान मात्र नभई उच्च गुणस्तरका औद्योगिक सामग्री आपूर्ति गर्ने साझेदारका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ।
एरोस्पेस उद्योगको विस्तारले एउटा अर्को पक्ष पनि उजागर गर्छ। कुनै देशले अन्तर्राष्ट्रिय कम्पनीलाई उत्पादन केन्द्र खोल्न आकर्षित गरेपछि त्यसको प्रभाव केवल निर्यातमा मात्र पर्दैन।
इन्जिनियरिङ, गुणस्तर परीक्षण, प्राविधिक तालिम, अनुसन्धान र औद्योगिक व्यवस्थापनमा पनि नयाँ क्षमता निर्माण हुन्छ। मोरक्कोले यही ज्ञान र सीप स्थानीय अर्थतन्त्रमा भित्र्याउने प्रयास गरिरहेको छ।
फस्फेटबाट हरित उद्योगसम्म
मोरक्कोको अर्को ठूलो आर्थिक सम्पत्ति फस्फेट हो। विश्वका प्रमुख फस्फेट भण्डारमध्ये ठूलो हिस्सा मोरक्कोमा रहेको मानिन्छ। कृषि उत्पादनका लागि आवश्यक मल उत्पादनमा प्रयोग हुने फस्फेटले देशलाई अन्तर्राष्ट्रिय बजारमा रणनीतिक महत्त्व दिएको छ।
यस क्षेत्रको प्रमुख कम्पनी ओसीपी ग्रुप हो। फस्फेट उत्खनन, प्रशोधन र मल उत्पादनमा सक्रिय यस कम्पनीले मोरक्कोको निर्यात तथा औद्योगिक विकासमा ठूलो भूमिका खेलेको छ। यसको व्यवसाय कच्चा फस्फेट बिक्रीमा मात्र सीमित छैन। फस्फेटलाई प्रशोधन गरेर फस्फोरिक एसिड, रासायनिक मल र कृषि उत्पादनसँग सम्बन्धित सामग्री बनाउने काम पनि गर्छ।
कम्पनीले उत्पादनलाई थप दिगो बनाउने उद्देश्यले ठूलो हरित लगानी योजना अघि सारेको छ।
ओसीपी ग्रुपको विवरणअनुसार करिब १३ अर्ब अमेरिकी डलरको लगानी योजनाले उत्पादन क्षमता विस्तार, नवीकरणीय ऊर्जा, पानी व्यवस्थापन र हरित औद्योगिक प्रविधिमा जोड दिएको छ।
यस योजनाबाट २५ हजार रोजगारी सिर्जना गर्ने र ६०० भन्दा बढी मोरक्कन कम्पनीलाई संलग्न गराउने लक्ष्य राखिएको छ।
यसको महत्त्व मोरक्कोको अर्थतन्त्रका लागि मात्र होइन, विश्वव्यापी खाद्य सुरक्षाका लागि पनि छ। मल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको माग विश्वभर बढिरहेको छ। कृषि उत्पादकत्व वृद्धि र खाद्यान्न आपूर्तिका लागि मलको उपलब्धता महत्त्वपूर्ण हुन्छ। मोरक्कोले फस्फेटलाई उच्च मूल्यका प्रशोधित उत्पादनमा बदल्न सके यसले कच्चा पदार्थ निर्यातभन्दा बढी आम्दानी र रोजगारी सिर्जना गर्न सक्छ।
तर खानी तथा मल उद्योगको विस्तारसँगै वातावरणीय चुनौती पनि जोडिएका छन्। पानीको ठूलो खपत, औद्योगिक प्रदूषण र ऊर्जा आवश्यकताले उत्पादनको लागत र दिगोपनमा प्रभाव पार्छ। त्यसैले नवीकरणीय ऊर्जा, पानी पुनःप्रयोग र कम कार्बन उत्पादन प्रविधि अपनाउनु यस क्षेत्रको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतासँग जोडिएको छ।
पर्यटन पनि आर्थिक विविधीकरणको आधार
मोरक्कोको अर्थतन्त्रमा पर्यटन पुरानो र महत्त्वपूर्ण क्षेत्र हो। माराकेश, फेज, कासाब्लान्का, रबात, शेफशाउएन र सहारा मरुभूमिका गन्तव्यले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्छन्। ऐतिहासिक सहर, इस्लामिक वास्तुकला, समुद्री तट, पहाडी क्षेत्र र मरुभूमि पर्यटनले देशलाई विविध गन्तव्यका रूपमा स्थापित गरेका छन्।
पर्यटनले होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, स्थानीय बजार, गाइड सेवा र मनोरञ्जन उद्योगमा रोजगारी सिर्जना गर्छ। यसको प्रभाव ठूला होटल तथा अन्तर्राष्ट्रिय कम्पनीमा मात्र सीमित हुँदैन। स्थानीय पसल, परिवारद्वारा सञ्चालित आवास, हस्तकला उत्पादक र साना यातायात व्यवसायले पनि पर्यटकबाट आम्दानी गर्न सक्छन्।

मोरक्कोको केनित्रास्थित स्टेलान्टिस कारखानामा सवारीसाधन उत्पादन हुँदै। फोटो स्रोत: Automotive Manufacturing Solutions
मोरक्कोको पर्यटन मन्त्रालयका अनुसार सन् २०२४ मा देशमा १ करोड ७४ लाख पर्यटक तथा विदेशमा बसोबास गर्ने मोरक्कन नागरिकको आगमन भएको थियो। यो सन् २०२३ को तुलनामा २० प्रतिशत बढी हो। पर्यटनबाट प्राप्त आम्दानी सन् २०२४ मा ११२ अर्ब दिरहम पुगेको थियो।
पर्यटनलाई थप विस्तार गर्ने रणनीतिमा सन् २०३० को विश्वकप फुटबल सहआयोजनाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
स्पेन र पोर्चुगलसँग मिलेर विश्वकप आयोजना गर्ने तयारीका क्रममा मोरक्कोले रंगशाला, विमानस्थल, रेल, सडक, होटल र सहरी पूर्वाधारमा लगानी बढाइरहेको छ।
यसले निर्माण, यातायात, पर्यटन र सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।
तर पर्यटनको सफलता आगन्तुकको संख्याले मात्र मापन हुँदैन। पर्यटकले गर्ने खर्च, स्थानीय व्यवसायले पाउने लाभ, रोजगारीको गुणस्तर र पर्यावरणीय असर पनि महत्त्वपूर्ण हुन्छन्। पर्यटनको आम्दानी केही ठूला सहर र व्यवसायमा मात्र केन्द्रित भए ग्रामीण समुदायले त्यसको लाभ कम पाउन सक्छन्।
विदेशी लगानी आकर्षित गर्ने नीति
मोरक्कोको औद्योगिक विकासमा विदेशी लगानीको भूमिका उल्लेखनीय छ। देशले विदेशी कम्पनीलाई आकर्षित गर्न औद्योगिक क्षेत्र, कर तथा लगानीसम्बन्धी सुविधा, पूर्वाधार र व्यावसायिक तालिममा जोड दिएको छ। युरोपसँगको व्यापारिक सम्बन्ध र भौगोलिक निकटताले पनि लगानीकर्ताका लागि आकर्षण बढाएको छ।
मोरक्कोले युरोपेली बजारसँग व्यापारिक सम्बन्ध विस्तार गर्न विभिन्न व्यापार सम्झौता र साझेदारीको उपयोग गरेको छ। विशेषगरी युरोपेली संघसँगको व्यापारिक सम्बन्धले कार, पार्टपुर्जा, कपडा, कृषि उत्पादन र अन्य औद्योगिक सामग्री निर्यात गर्न सहज बनाएको छ। देशले अफ्रिकी बजारमा पनि आफ्नो आर्थिक उपस्थिति बढाउने प्रयास गरेको छ।
विदेशी कम्पनीलाई आकर्षित गर्ने रणनीतिमा औद्योगिक क्षेत्रको विकास महत्त्वपूर्ण छ। ट्याङ्गियर अटोमोटिभ सिटी यसको उदाहरण हो। त्यहाँ कार निर्माता कम्पनीका साथै पार्टपुर्जा आपूर्तिकर्ता, ढुवानी कम्पनी र अन्य सहायक व्यवसाय सञ्चालनमा छन्।
ट्याङ्गियर–मेड औद्योगिक क्षेत्रको विवरणअनुसार यस अटोमोबाइल इकोसिस्टममा १५० भन्दा बढी आपूर्तिकर्ता तथा औद्योगिक सेवा प्रदायक आबद्ध छन्। यसले ४० हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गरेको र लगानीको आकार ४ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको उल्लेख छ।
मोरक्कोले चीनसँगको सहकार्यमा मोहम्मद छैटौँ ट्याङ्गियर टेक सिटी पनि विकास गरिरहेको छ। यो परियोजना औद्योगिक तथा सेवा क्षेत्र, आवास, पर्यटन र आधुनिक सहरी पूर्वाधारलाई एकीकृत गर्ने उद्देश्यले अघि बढाइएको हो। ट्याङ्गियर–मेडको विवरणअनुसार सन् २०२४ देखि २०२८ सम्म पहिलो चरणको विकासका लागि २.४ अर्ब दिरहम लगानी गर्ने योजना छ।
विदेशी लगानीको वास्तविक लाभ त्यसले देशभित्र कति रोजगारी सिर्जना गर्छ, स्थानीय कम्पनीलाई कति अवसर दिन्छ र प्रविधि तथा सीप कति हस्तान्तरण गर्छ भन्ने आधारमा मापन गर्नुपर्छ। मोरक्कोले स्थानीय सामग्रीको हिस्सा बढाउने लक्ष्य राख्नुको कारण पनि यही हो।
आर्थिक वृद्धिसँगै कायम चुनौती
मोरक्कोको आर्थिक रूपान्तरण उल्लेखनीय भए पनि देशका सबै समस्या समाधान भएका छैनन्। विश्व बैंकका अनुसार सन् २०२५ मा देशको कुल गार्हस्थ्य उत्पादन ४.९ प्रतिशतले बढेको थियो। सन् २०२४ मा यो वृद्धि ४.४ प्रतिशत थियो। पूर्वाधार लगानी, कृषि उत्पादनमा सुधार, पर्यटन र निर्यातमुखी उद्योगले आर्थिक वृद्धिमा योगदान गरेका थिए।
तर आर्थिक वृद्धिको तुलनामा रोजगारी सिर्जना कमजोर छ। सन् २००० देखि २०२४ सम्म काम गर्ने उमेर समूहको जनसंख्या रोजगारीको वृद्धिभन्दा करिब २.५ गुणा छिटो बढेको विश्व बैंकले उल्लेख गरेको छ।
महिला श्रम सहभागिता पनि निकै कम छ। सन् २०२५ मा १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर ३७.३ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको मूल्याङ्कन छ।
यसले मोरक्कोको औद्योगिक सफलताको अर्को पक्ष देखाउँछ। उत्पादन र निर्यात बढ्दैमा रोजगारीको समस्या स्वतः समाधान हुँदैन। उद्योगले आधुनिक मेसिन र स्वचालन प्रयोग गर्दा उत्पादन क्षमता बढ्न सक्छ, तर कम सीप भएका श्रमिकका लागि रोजगारीको अवसर सीमित हुन सक्छ। त्यसैले औद्योगिक विकाससँगै शिक्षा, सीप र उद्यमशीलताको विस्तार आवश्यक हुन्छ।
अर्को गम्भीर चुनौती पानीको अभाव हो। मोरक्कोले लगातार खडेरी र जलवायु परिवर्तनको असर भोगिरहेको छ। कृषि उत्पादनमा निर्भर ठूलो जनसंख्याको आम्दानी पानीको उपलब्धतासँग जोडिएको छ।
जलस्रोतको कमीले खाद्यान्न उत्पादन, ग्रामीण रोजगारी र औद्योगिक गतिविधिमा पनि दबाब सिर्जना गर्न सक्छ। विश्व बैंकले मोरक्कोलाई विश्वका अत्यधिक पानी अभाव भएका देशमध्ये एकका रूपमा उल्लेख गरेको छ।
यसको समाधानका लागि सरकारले समुद्री पानी प्रशोधन, पानी पुनःप्रयोग, जलाशय र सिँचाइ पूर्वाधारमा लगानी बढाउनुपर्ने अवस्था छ। उद्योग र पर्यटन विस्तारसँगै पानीको माग पनि बढ्ने भएकाले आर्थिक विकासको मोडललाई जलवायु अनुकूल बनाउनु आवश्यक छ।
क्षेत्रीय असमानता पनि अर्को चुनौती हो। कासाब्लान्का, रबात र ट्याङ्गियरजस्ता तटीय सहरमा औद्योगिक तथा सेवा क्षेत्रको गतिविधि तीव्र छ। तर ग्रामीण तथा भित्री क्षेत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर कमजोर छ। आर्थिक वृद्धिको लाभ देशका सबै भूभागमा पुर्याउन नसके सामाजिक असमानता कायम रहन सक्छ।
हरित ऊर्जा र विद्युतीय सवारीको सम्भावना
मोरक्कोले आगामी औद्योगिक चरणमा नवीकरणीय ऊर्जा र विद्युतीय सवारीलाई महत्त्व दिइरहेको छ। देशमा सौर्य तथा वायु ऊर्जाको सम्भावना उच्च छ। नवीकरणीय ऊर्जाको प्रयोग बढाउन सके आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन र उद्योगको कार्बन उत्सर्जन कम गर्न सकिन्छ।
अटोमोबाइल उद्योगमा विद्युतीय सवारीको माग बढ्दै जाँदा मोरक्कोले आफ्नो उत्पादन क्षमतालाई नयाँ बजारअनुकूल बनाउन खोजिरहेको छ।
स्टेलान्टिसको केनित्रा कारखानाको विस्तारमा साना विद्युतीय सवारीको उत्पादनलाई प्राथमिकता दिनु यसै रणनीतिको हिस्सा हो। विश्व बजारमा विद्युतीय सवारीको आपूर्ति शृङ्खला विस्तार हुँदै गर्दा मोरक्कोले ब्याट्री, पार्टपुर्जा र विद्युतीय प्रणाली उत्पादनमा थप लगानी आकर्षित गर्ने प्रयास गरिरहेको छ।
यस क्षेत्रमा चीनको लगानी पनि महत्त्वपूर्ण बन्न सक्छ। विद्युतीय सवारीका ब्याट्री, खनिज प्रशोधन र अन्य उपकरण उत्पादनमा चीनसँगको औद्योगिक साझेदारीले मोरक्कोको नयाँ औद्योगिक सम्भावना विस्तार गर्न सक्छ। तर प्रविधि हस्तान्तरण, स्थानीय आपूर्तिकर्ताको विकास र वातावरणीय मापदण्ड सुनिश्चित नगरी विदेशी लगानीबाट दीर्घकालीन लाभ लिन कठिन हुन्छ।
नवीकरणीय ऊर्जा र औद्योगिक उत्पादनलाई जोड्ने मोरक्कोको प्रयासले देशलाई युरोपेली बजारका लागि कम कार्बन उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना छ। युरोपेली बजारमा वातावरणीय मापदण्ड कडा हुँदै जाँदा स्वच्छ ऊर्जाबाट उत्पादन गर्ने उद्योगले प्रतिस्पर्धात्मक लाभ पाउन सक्छन्।
नेपालको लागि के छ पाठ?
मोरक्कोको आर्थिक रूपान्तरण नेपालको सन्दर्भमा पनि उपयोगी अध्ययन हुन सक्छ। दुवै देशको भूगोल, अर्थतन्त्र र राजनीतिक संरचना फरक भए पनि पूर्वाधार, निर्यात, विदेशी लगानी र उत्पादनमूलक उद्योग विस्तारका विषयमा केही महत्त्वपूर्ण पाठ लिन सकिन्छ।
पहिलो पाठ, पूर्वाधारलाई उत्पादनसँग जोड्नुपर्छ। मोरक्कोले बन्दरगाह बनाएर मात्र सफलता हासिल गरेको होइन। बन्दरगाहसँग औद्योगिक क्षेत्र, गोदाम, सडक, रेल, भन्सार र आपूर्तिकर्ता सञ्जाल विकास गरेको छ। नेपालले पनि सडक, सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र र सीमापार व्यापार पूर्वाधारलाई उत्पादनमूलक उद्योगसँग जोड्न आवश्यक छ।
दोस्रो पाठ, विदेशी लगानीलाई स्थानीय उद्योगसँग जोड्नुपर्छ। मोरक्कोमा रेनो र स्टेलान्टिसजस्ता कम्पनी आएपछि त्यसका लागि आवश्यक पार्टपुर्जा उत्पादन गर्ने स्थानीय कम्पनी र प्राविधिक सेवा प्रदायकको सञ्जाल विस्तार भएको छ।
नेपालमा पनि जलविद्युत्, कृषि प्रशोधन, सूचना प्रविधि, औषधि र पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्दा स्थानीय उद्यमको सहभागिता सुनिश्चित गर्नुपर्छ।
तेस्रो पाठ, सीपमूलक शिक्षा र उद्योगबीच प्रत्यक्ष सम्बन्ध आवश्यक छ। मोरक्कोले अटोमोबाइल तथा एरोस्पेस उद्योगका लागि प्राविधिक तालिम केन्द्र स्थापना गरेको छ। नेपालमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति र शिक्षण संस्थाले उत्पादन गर्ने जनशक्तिबीच ठूलो अन्तर छ। उद्योगसँग सहकार्यमा पाठ्यक्रम, तालिम र काममै आधारित सिकाइ विस्तार गर्न सकिन्छ।
चौथो पाठ, कच्चा पदार्थ निर्यातमा मात्र सीमित रहनु हुँदैन। मोरक्कोले फस्फेटलाई प्रशोधित मल र रासायनिक उत्पादनमा बदल्ने प्रयास गरेको छ। नेपालले पनि जडीबुटी, कृषि उत्पादन, फलफूल, दुग्धजन्य पदार्थ र खनिजलाई प्रशोधन गरेर उच्च मूल्यका वस्तु उत्पादन गर्न सक्ने सम्भावना छ।
पाँचौँ पाठ, निर्यातका लागि एउटा मात्र बजारमा निर्भर हुनु हुँदैन। मोरक्कोले युरोपसँगको भौगोलिक निकटता उपयोग गर्दै अफ्रिका र अन्य अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहुँच विस्तार गरिरहेको छ। नेपालले भारत र चीनसँगको व्यापारिक सम्बन्धलाई उपयोग गर्दै दक्षिण एसिया तथा अन्य बजारमा प्रतिस्पर्धी उत्पादन निर्यात गर्ने रणनीति बनाउनुपर्छ।
छैटौँ पाठ, औद्योगिक विकासलाई वातावरणीय दिगोपनसँग जोड्नुपर्छ। मोरक्कोले नवीकरणीय ऊर्जा र पानी व्यवस्थापनमा लगानी बढाएको छ। नेपालले जलविद्युत् उत्पादनको सम्भावना उपयोग गर्दै स्वच्छ ऊर्जामा आधारित उद्योग विकास गर्न सक्छ। तर जलस्रोतको संरक्षण, वातावरणीय प्रभाव र स्थानीय समुदायको हितलाई पनि प्राथमिकता दिनुपर्छ।
औद्योगिक रूपान्तरणको अधुरो तर महत्त्वपूर्ण यात्रा
मोरक्कोको आर्थिक यात्रा भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत र पर्यटनको सम्भावनालाई औद्योगिक उत्पादनसँग जोड्ने प्रयासको उदाहरण हो। देशले युरोपसँगको निकटता उपयोग गरेर अटोमोबाइल र एरोस्पेस उद्योग विस्तार गरेको छ।
ट्याङ्गियर-मेड बन्दरगाहलाई अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाएको छ। विदेशी कम्पनीलाई आकर्षित गर्दै स्थानीय आपूर्तिकर्ता, प्राविधिक जनशक्ति र औद्योगिक सेवा क्षेत्रको विकास गरेको छ।
अटोमोबाइल निर्यातमा अफ्रिकाको अग्रणी स्थान, एरोस्पेस उद्योगमा अन्तर्राष्ट्रिय कम्पनीको उपस्थिति, पर्यटनबाट बढ्दो आम्दानी र फस्फेट प्रशोधनमा गरिएको लगानीले मोरक्कोको अर्थतन्त्रमा विविधीकरणको संकेत गर्छ।
विश्व बैंकका अनुसार सन् २०२५ मा देशको कुल गार्हस्थ्य उत्पादन १८३ अर्ब अमेरिकी डलर पुगेको थियो। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन करिब ४ हजार ६७२ डलर थियो।
तर यो रूपान्तरण पूर्ण भएको छैन। उच्च युवा बेरोजगारी, महिला श्रम सहभागिताको कमी, ग्रामीण–सहरी असमानता, पानीको अभाव र साना व्यवसायको कमजोर प्रतिस्पर्धात्मक क्षमताले विकासको लाभलाई सीमित बनाएका छन्। औद्योगिक उत्पादन बढे पनि त्यसले पर्याप्त रोजगारी र समान अवसर सिर्जना गर्न सकेको छैन।
विश्व बैंकको सन् २०२६ को अध्ययनले उपयुक्त संरचनात्मक सुधार गर्न सके मोरक्कोले सन् २०३५ सम्म थप १७ लाख रोजगारी सिर्जना गर्ने सम्भावना औँल्याएको छ।
यसका लागि बजार प्रतिस्पर्धा बढाउने, निजी लगानीलाई प्रोत्साहन गर्ने, साना तथा मझौला व्यवसायलाई विस्तार गर्ने र महिला तथा युवालाई औपचारिक अर्थतन्त्रमा जोड्ने नीति आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
मोरक्कोको कथा त्यसैले केवल कार उत्पादन बढाएको वा ठूलो बन्दरगाह बनाएको कथा होइन। यो देशले आफ्नो भौगोलिक अवस्थिति, श्रमशक्ति, प्राकृतिक स्रोत र अन्तर्राष्ट्रिय साझेदारीलाई एउटै औद्योगिक रणनीतिमा जोड्ने प्रयास गरेको कथा हो।
यसको उपलब्धिले विकासशील देशले पनि योजनाबद्ध लगानी, पूर्वाधार र सीप विकासमार्फत विश्वव्यापी उत्पादन सञ्जालमा स्थान बनाउन सक्छन् भन्ने देखाउँछ।
तर दीर्घकालीन सफलता उत्पादन र निर्यातको तथ्याङ्कमा मात्र निर्भर रहने छैन। उद्योगले स्थानीय रोजगारी कति सिर्जना गर्छ, प्रविधि कति हस्तान्तरण गर्छ, स्थानीय कम्पनी कति बलिया बन्छन् र आर्थिक वृद्धिको लाभ कति नागरिकसम्म पुग्छ भन्ने कुराले मोरक्कोको आगामी आर्थिक भविष्य निर्धारण गर्नेछ।
