Logo

अन्तर्राष्ट्रिय उडान बढाउँदै नेपाली वायुसेवा

अ+ अ-

काठमाडौँ- चार्टरमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको श्री एयरलाइन्सले भारत र बङ्गलादेशमा नियमित उडान सञ्चालनको अनुमति पाएको छ । गत चैत अन्तिम साता भारतको कोलकातामा परीक्षण उडान गरेको श्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भारतको नयाँदिल्ली र कोलकातासँगै नेपालबाट बङ्गलादेशमा व्यावसायिक उडानको अनुमति पाएको हो ।

एयरलाइन्सका निर्देशक तथा प्रवक्ता अनिल मानन्धरले भन्नुभयो, “यसअघि अन्तर्राष्ट्रिय क्षेत्रमा ननसेड्युल चार्टर उडानको मात्रै अनुमति रहेकोमा अब कम्पनीले नियमित व्यावसायिक उडानको अनुमति (एओसी) पाएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएसँगै भारतको नागरिक उड्डयन निर्देशनालय र बङ्गलादेश नागरिक उड्डयन प्राधिकरणसँग सरकारले कूटनीतिक पहलमार्फत राष्ट्रिय यात्रुवाहक जहाजका रूपमा आवश्यक अनुमतिको प्रक्रिया अघि बढाउने छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले द्विपक्षीय हवाईसेवा सम्झौता अनुसार भारत र बङ्गलादेशसँग कूटनीतिक पहलमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रक्रिया अगाडि बढाउने र उक्त देशहरूले अनुमति दिएपछि एयरलाइन्सको लेखा परीक्षण भएलगत्तै उडान सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । कम्पनीले ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यु–४०० जहाजमार्फत भारत र बङ्गलादेशमा उडान गर्ने योजना बनाएको र यात्रु उपलब्धताका आधारमा सुरुमा दैनिक एक उडान सञ्चालनमा आउने उहाँको भनाइ छ ।

हाल कम्पनीसँग नौ वटा जहाज (फिक्स्ड विङ) र सात वटा हेलिकोप्टर (रोटर) गरी १६ वटा वायुयान छन् । भारत र बङ्गलादेशमा उडान सञ्चालन गरेसँगै थप एक थान १८० सिट क्षमताको न्यारोबडी जहाज भिœयाएर पश्चिम एसियाका दुबई, कतार र मलेसियामा उडान विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । हाल उक्त गन्तव्यमा नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले हवाईसेवा दिइरहेका छन् ।

त्यस्तै आन्तरिक उडानमा दरिलो उपस्थिति जनाइरहेको बुद्ध एयरले नेपालबाट भारतको बनारस र कोलकातामा उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल १५ वटा वायुयान रहेको बुद्ध एयरले सन् २०१० मै अन्तर्राष्ट्रिय उडानको इजाजत पाएको थियोे । हाल बङ्गलादेशबाट काठमाडौँमा नियमित उडान हुँदै आएकोमा नेपाल वायुसेवा निगमले पनि काठमाडौँ–ढाका सिधा उडानको तयारी गरिहेको छ । निगमले ढाकामा सिधा उडान गर्ने तयारी अनुसार सम्भाव्यता अध्ययनका लागि उपसमिति गठन गरेर आवश्यक गृहकार्य अघि बढाएको र उक्त अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने जनाएको छ ।