धनुषा। जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि रु तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि ३ करोड ५७ लाख रुपैयाँ र लक्ष्मीनियाको पुलका लागि ३ करोड ४२ लाख विनियोजन गरिएको छ । तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।
