काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका सेवाप्रदायक अस्पतालका फोकल पर्सन (सम्पर्क अधिकारी) को विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीअनुसार निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा सेवासम्बन्धी गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका जिम्मेवार सम्पर्क अधिकारी तोकिएको छ।
सार्वजनिक विवरणमा सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समावेश छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र सम्पर्क नम्बर उल्लेख गरिएको छ, जसमार्फत सेवाग्राहीले निःशुल्क उपचारसम्बन्धी जानकारी लिन वा समस्या परे सिधै सम्पर्क गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार कार्यविधिले व्यवस्था गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा व्यवहारमै कार्यान्वयन गराउन निगरानी र समन्वयलाई थप प्रभावकारी बनाइएको हो।
यसअघि मन्त्रालयले निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ। साथै, अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ।
मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, गुनासो दर्ता गर्न तथा सेवा प्राप्तिका लागि समन्वय गर्न आग्रह गरेको छ।
