Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

युरोप पुग्दै नेपाली आईटी, ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै

अ+ अ-

काठमाडौं। नेपाली सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल टेक रोडशो युरोप २०२६’ आयोजना हुने भएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आगामी भदौ २१ देखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६–२१) संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा रोडशो आयोजना गर्न लागेको हो।

नास आईटीका अनुसार कार्यक्रमले नेपाली आईटी कम्पनीहरूलाई युरोपका व्यवसायी, लगानीकर्ता तथा प्रविधि समुदायसँग प्रत्यक्ष सम्पर्क र सहकार्यको अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।

रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म यूकेमा हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटलमा आयोजना गरिनेछ। दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा सञ्चालन हुनेछ, जसअन्तर्गत सेप्टेम्बर १६ मा ज्युरिखस्थित होटल सेन्ट गोठार्डमा मुख्य कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा नास आईटीसँग आबद्ध १७ अग्रणी कम्पनी सहभागी हुनेछन्। उनीहरूले सफ्टवेयर विकास, डिजिटल समाधान तथा नवीन प्रविधिमा आधारित आफ्ना सेवा र उत्पादन अन्तर्राष्ट्रिय बजारसमक्ष प्रस्तुत गर्नेछन्। सहभागी कम्पनीमा जेस्पर आईटी, टेकोन टेक्नोलोजिज, एभरेस्ट नलेज सोलुसन्स (ईके सोलुसन्स), योङ इनोभेसनलगायत रहेका छन्।

नास आईटीका अध्यक्ष गौरव पाण्डेले नेपाली आईटी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै यो रोडशोले नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार कार्यक्रमबाट नयाँ बजार विस्तार हुनुका साथै दीर्घकालीन व्यावसायिक साझेदारीका अवसरसमेत सिर्जना हुनेछन्।

नेपालको आईटी क्षेत्र हाल तीव्र गतिमा विस्तार भइरहेको उद्योगमध्ये एक मानिन्छ। यस क्षेत्रमा एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत रहेको र विदेशी मुद्रा आम्दानीमा वार्षिक २० देखि २५ प्रतिशतसम्म वृद्धि भइरहेको अनुमान छ।

यो रोडशो स्विस सरकार विकास सहयोग तथा नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स कार्यक्रम अन्तर्गत आयोजना हुन लागेको हो। उक्त कार्यक्रमलाई यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोग र डीएआई ग्लोबल यूकेले कार्यान्वयन गरिरहेको छ।

यसअघि नास आईटीले सन् २०२५ मा अष्ट्रेलिया र २०२६ मा अमेरिकामा पनि यस्तै रोडशो सफलतापूर्वक आयोजना गरिसकेको थियो। नास आईटीका अनुसार युरोप संस्करणले प्रविधि सेवा निर्यात विस्तार, वैदेशिक लगानी आकर्षित गर्ने तथा युरोपेली बजारसँग नेपाली आईटी उद्योगको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

2