काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि चार वटा प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रदेश अस्पताल, लम्कीचुहा प्रदेश अस्पताल, टिकापुर प्रदेश अस्पताल र महाकाली प्रदेश अस्पताललाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा स्वीकृति दिने निर्णय गरेको हो।
प्रदेश सरकारले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ।
सरकारका अनुसार यस निर्णयले शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनको बाटो खुल्ने अपेक्षा गरिएको छ। साथै, प्रदेशमै गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्न र स्वास्थ्य जनशक्ति उत्पादनलाई थप प्रभावकारी बनाउन निर्णयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
