काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा उल्लेखनीय रूपमा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बढ्दो निष्क्रिय कर्जा, कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) मा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण नाफा प्रभावित भएको हो।
समीक्षा अवधिमा बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ मा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ थियो। स्प्रेड दर ३.९६ प्रतिशतबाट ३.६६ प्रतिशतमा झरेपछि कर्जा विस्तार भए पनि ब्याज आम्दानी घटेको बैंकले जनाएको छ।
यद्यपि, फी तथा कमिसन आम्दानी भने सकारात्मक देखिएको छ। यो आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन खर्च पनि बढेको छ। कर्मचारी खर्च ४ अर्ब १७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५० करोड ८५ लाख रुपैयाँ पुगेको छ।
प्रोभिजनमा ८६ प्रतिशत वृद्धि
समीक्षा अवधिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको प्रोभिजन करिब ८६ प्रतिशतले बढेर १ अर्ब १७ करोड २६ लाख रुपैयाँ पुगेको छ।
त्यससँगै बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेपछि सम्भावित जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याउनुपर्दा बैंकको नाफामा प्रत्यक्ष असर परेको देखिएको छ।
निक्षेप र कर्जा दुवैमा विस्तार
नाफा घटे पनि बैंकले व्यवसाय विस्तार भने कायम राखेको छ। कुल निक्षेप १५.५० प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकसँग २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप थियो।
त्यस्तै, कर्जा प्रवाह १६.२४ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
ईपीएस र लाभांश क्षमता घट्यो
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ५९ पैसाबाट घटेर १६ रुपैयाँ ११ पैसा मा झरेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २२ लाख रुपैयाँ रहेको छ। यसका आधारमा बैंकसँग करिब ६.५४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ।
बैंकको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ भने पुँजीकोष अनुपात १३.२९ प्रतिशत कायम भएको छ।
त्यस्तै, बैंकको आधार दर ५.८७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशत मा झरेको छ भने कोषको लागत ३.८१ प्रतिशतबाट २.९७ प्रतिशत मा आएको छ। ब्याजदर घटे पनि बढ्दो निष्क्रिय कर्जा र उच्च प्रोभिजनका कारण बैंकको समग्र वित्तीय प्रदर्शनमा दबाब परेको देखिएको छ।
