काठमाडौं । नेपाल सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयद्वारा जारी गरिएको नयाँ तलबमान अनुसार माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकहरूको तलबमा परिमार्जन गरिएको हो ।
सार्वजनिक गरिएको नयाँ सूची अनुसार माध्यमिक तह (मावि) को प्रथम श्रेणीका शिक्षकको कुल तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, मावि द्वितीय श्रेणीको ६७ हजार ९ सय ७ र तृतीय श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ ।
निम्न माध्यमिक तह (निमावि) को प्रथम श्रेणीका शिक्षकको कुल तलब ६३ हजार ९ सय ४ रुपैयाँ पुगेको छ । निमावि द्वितीय श्रेणीको ६० हजार ८ सय ७४ र तृतीय श्रेणीको ४८ हजार ३ सय ८७ रुपैयाँ तोकिएको छ ।
प्राथमिक तह (प्रावि) तर्फ एस.एल.सी. उत्तीर्ण गरेका प्रथम श्रेणीका शिक्षकको कुल तलब ६० हजार ८ सय ७४ रुपैयाँ पुगेको छ । त्यस्तै, द्वितीय श्रेणीको ४८ हजार ३ सय ८७ र तृतीय श्रेणीको ४३ हजार ४ सय २८ रुपैयाँ कायम भएको छ ।
एस.एल.सी. उत्तीर्ण नभएका शिक्षकहरूको हकमा पनि नयाँ तलबमान लागू भएको छ । दुई विषयसम्म अनुत्तीर्ण शिक्षकको कुल तलब ३६ हजार ४ सय ४५ रुपैयाँ र दुई विषयभन्दा बढी अनुत्तीर्ण रहेका शिक्षकको तलब ३४ हजार ४ सय २६ रुपैयाँ तोकिएको छ ।
यो नयाँ तलबमानमा शिक्षकहरूको सुरु तलबमानमा ग्रेड संख्या र ग्रेड दर जोडेर ‘कायम जम्मा’ निकालिएको हो । सरकारको यो निर्णयसँगै देशभरका सामुदायिक विद्यालयमा कार्यरत हजारौँ शिक्षकहरू लाभान्वित हुने भएका छन् ।
