काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म पार्किङ गर्दा सवारी साधानलाई कुनै पनि शुल्क नलाग्ने भएको छ। यसअघि १० मिनेटसम्म पार्किङ गर्दा दुई पाङ्ग्रेले १० र चार पाङ्ग्रेले २० रुपैयाँ शुल्क लाग्ने गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल परिसरमा सूचना टास्दै १० मिनेटसम्म सवारी पार्किङ गर्दा कुनै पनि शुल्क नलाग्ने जनाएको हो। विमानस्थलका महाप्रबन्धक जगनाथ निरौलाले प्राधिकरणको अनुरोधपछि पिक एण्ड ड्रपका लागि आउने सवारी साधानलाई कुनै शुल्क नलाग्ने जानकारी दिए।
प्राधिकरणको सर्कुलरको आधारमा विमानस्थलले सम्बन्धित निकायसँगको समन्वयमा तत्कालका लागि शुल्क छुट गराएको भए पनि दीर्घकालिन रुपमा कसरी कार्यान्वयन गर्न सकिन्छ? भन्ने विषयमा छलफल चलिरहेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलमा सवारी पार्किङ गर्दा चर्को शुल्क लिएको गुनासो बढिरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुल्कमा सहजिकरण गर्न निर्देशन दिएको थियो।
पर्यटन मन्त्रालयको निर्देशनलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मातहतका विमानस्थललाई पार्किङ शुल्कमा सहजीकरण गर्न पत्रचार गरेको थियो। पिक एण्ड ड्रपका लागि जाने सवारी साधानलाई १५ मिनेटसम्म शुल्क नलिँदा सर्वसाधारणलाई ठूलो राहत मिलिरहेको छ।
