एजेन्सी । टा मोटर्सले नयाँ ‘नेक्सन कामो’ एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । यो विशेष लिमिटेड एडिसनलाई कम्पनीले आकर्षक डिजाइन र अत्याधुनिक सुविधाहरूका साथ बजारमा ल्याएको हो ।
आफ्नो लोकप्रिय एसयूभी नेक्सन बजारमा आएको नौ वर्ष पुगेको र ११ लाखभन्दा बढी युनिट बिक्री भएको ऐतिहासिक अवसरमा यो नयाँ एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ । नेक्सन कामो पेट्रोल, डिजेल र सीएनजी गरी तीनवटै इन्जिन विकल्पहरूमा उपलब्ध छ ।
यस एडिसनको मुख्य आकर्षण यसको ‘मिलिटरी’ शैलीको बाहिरी बनावट हो । गाडीलाई विशेष बनाउन ‘मुनार मिस्ट’ (गाढा हरियो) र ‘कूर्ग क्लाउड’ गरी दुई विशेष रङ विकल्पमा उपलब्ध गराइएको छ । गाडीको अगाडिको दुवै फेन्डरमा ‘कामो’ ब्याजिङ दिइएको छ भने भित्री क्याबिनको सिट हेडरेस्टमा पनि कामो थिमको बुट्टा प्रयोग गरिएको छ । यसमा आकर्षक एलइडी डेटाइम रनिङ लाइट्स, रुफ रेल्स, सार्क-फिन एन्टेना र नयाँ अलोय ह्वीलहरूले गाडीलाई थप प्रिमियम र बोल्ड लुक्स दिएका छन् ।
नेक्सन कामो एडिसनमा १२.३ इन्चको ठूलो हरमन इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी सराउन्ड भ्यु क्यामेरा प्रणालीसँगै ड्याशक्याम रेकर्डर पनि दिइएको छ ।
यस ड्याशक्यामले यात्राको निरन्तर रेकर्डिङ गर्नुका साथै कुनै पनि प्रभाव (Impact) पत्ता लाग्दा त्यसको फुटेजलाई सुरक्षित राख्दछ । गाडीको भित्री भागमा भ्वाइस-कन्ट्रोल प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, र ९ वटा स्पिकर भएको जेबीएल अडियो सिस्टम जस्ता सुविधाहरू उपलब्ध छन् ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै टाटाले यसका सबै भेरियन्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम (इएसपी) र आइएसओफिक्स माउन्टहरू अनिवार्य गरेको छ । उच्च भेरियन्ट ‘फियरलेस प्लस’ मा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) समेत समावेश गरिएको छ, जसमा अटोनोमस इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ र ट्राफिक साइन रिकग्निसन जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू छन् । सीएनजी भेरियन्टमा भने सुरक्षाका लागि अटोमेटिक लिक डिटेक्सन र फायर एक्सटिंग्विसर (आगो निभाउने उपकरण) समेत राखिएको छ ।
इन्जिन क्षमताका आधारमा, यसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन छ जसले १२० पीएस पावर र १७० एनएम टर्क पैदा गर्छ । त्यस्तै, १.५ लिटर टर्बो डिजेल इन्जिनले ११४.५ पीएस पावर र २६० एनएम टर्क प्रदान गर्छ । सीएनजी भर्सनमा पनि टर्बो पेट्रोल इन्जिन नै प्रयोग गरिएको छ, जसले १०० पीएस पावर दिन्छ ।
टाटाको विशेष ‘ट्विन सिलिन्डर’ प्रविधिका कारण सीएनजी गाडी भए तापनि यसमा ३२१ लिटरको बुट स्पेस उपलब्ध छ । क्रिएटिभ कामो, क्रिएटिभ प्लस एस, क्रिएटिभ प्लस पीएस, फियरलेस प्लस पीएस र फियरलेस प्लस ए पीएस गरी ५ भेरियन्टमा यो गाडी बजारमा आएको हो ।
