Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सिद्धार्थ बैंकको महिला उद्यमीलाई १५ लाखसम्म विनाधितो कर्जा, कसरी लिने ?

अ+ अ-

काठमाडौं । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना देशभर विस्तार गरेको छ। योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा लिन सक्नेछन्।

बैंकले २०८२ साउनदेखि ३० वटा शाखामार्फत परीक्षणका रूपमा सञ्चालन गरेको योजना २०८३ साउनदेखि भने देशभरका सबै शाखामा विस्तार गरेको हो। बैंकका अनुसार महिलाको वित्तीय पहुँच बढाउने, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले योजना विस्तार गरिएको हो।

१५ लाखसम्म विनाधितो, ५० लाखसम्म धितोमा

योजनाअन्तर्गत महिला उद्यमीले आवश्यकताअनुसार विभिन्न तहमा कर्जा लिन सक्नेछन्।

  • विनाधितो कर्जा : १५ लाख रुपैयाँसम्म
    आंशिक धितोमा : २५ लाख रुपैयाँसम्म
    पूर्ण धितोमा : ५० लाख रुपैयाँसम्म

तर नयाँ व्यवसाय सुरु गर्न चाहने महिलाका लागि धितो अनिवार्य हुने बैंकले जनाएको छ।

विनाधितो कर्जाका लागि के चाहिन्छ ?

विनाधितो कर्जा लिन व्यवसाय दर्ता भएको कम्तीमा ५ वर्ष पूरा भएको र एउटै स्थानबाट कम्तीमा ३ वर्षदेखि व्यवसाय सञ्चालनमा रहेको हुनुपर्नेछ।

आंशिक धितोमा कर्जा लिन भने व्यवसाय दर्ता भएको कम्तीमा ३ वर्ष र सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ।

कुन व्यवसाय महिला उद्यमीअन्तर्गत पर्छ ?

व्यवसायमा ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व महिलाको रहेको अवस्थामा उक्त व्यवसाय स्वतः योजनाका लागि योग्य हुनेछ।

त्यस्तै, २० देखि ५० प्रतिशतसम्म महिला स्वामित्व रहेको संस्थाको हकमा प्रमुख कार्यकारी अधिकृत, प्रबन्ध निर्देशक, अध्यक्ष वा सञ्चालकमध्ये कम्तीमा एकजना महिला हुनुपर्नेछ। साथै, सञ्चालक समितिमा कम्तीमा एकजना महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ।

वार्षिक ५ करोडसम्म कारोबार गर्ने व्यवसाय योग्य

यो योजना वार्षिक ५ करोड रुपैयाँसम्म कारोबार गर्ने लघु, साना तथा मझौला उद्यमका लागि लक्षित छ। ठूलो कारोबार गर्ने कर्पोरेट कम्पनीहरूलाई भने योजनामा समावेश गरिएको छैन।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सहुलियतपूर्ण ब्याजदरसम्बन्धी व्यवस्थाअनुसार कर्जा प्रवाह गर्ने जनाएको छ। कर्जाको भुक्तानीका लागि ग्राहकले आफ्नो आवश्यकताअनुसार मासिक, त्रैमासिक वा ओभरड्राफ्ट विकल्प रोज्न सक्नेछन्।

कर्जा पाउन क्रेडिट हिस्ट्री पनि महत्वपूर्ण

कर्जा स्वीकृतिका लागि ग्राहकको वित्तीय कारोबार तथा कर्जा भुक्तानी इतिहास सन्तोषजनक हुनुपर्नेछ।

विनाधितो कर्जाका लागि पछिल्लो एक वर्षमा किस्ता भुक्तानीमा ढिलाइ नभएको हुनुपर्नेछ। त्यस्तै, पछिल्ला दुई वर्षमा ३० दिनभन्दा बढी कर्जा भाखा नाघेको रेकर्ड हुनु हुँदैन।

एक सातामै विनाधितो कर्जा

आवश्यक कागजात पूरा भएको अवस्थामा विनाधितो कर्जा करिब एक साताभित्र स्वीकृत गर्ने बैंकको लक्ष्य छ। धितोसहितको कर्जा भने करिब दुई साताभित्र स्वीकृत गर्ने लक्ष्य राखिएको छ।

बैंकले चालु आर्थिक वर्षमा ‘महिला समृद्धि’ कर्जा योजनामार्फत कम्तीमा एक अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ।

बैंकका अनुसार पुँजी तथा धितोको अभावका कारण व्यवसाय विस्तार गर्न नसकेका महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउँदै उत्पादन, रोजगारी र महिला आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले योजना सञ्चालन गरिएको हो।

2