Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

अ+ अ-

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लामा यातायात प्रभावित भएको छ।

बाढी–पहिरोले राजमार्ग प्रभावित

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको हो।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

सिन्धुपाल्चोकदेखि रसुवासम्म सडक अवरुद्ध

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले पनि यातायात प्रभावित भएको छ।

सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ।

सडक खुलाउने प्रयास जारी

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षा जारी रहेकाले थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेको भन्दै सडक यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

2