काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको ऋण उठाउने तालिकाअनुसार सरकारले पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा मात्रै १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ ।
पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ ।
त्यस्तै, दोस्रो त्रैमासमा ९२ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । यस अवधिमा ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ उठाइनेछ ।
तेस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ गरी कुल १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ ।
चौथो त्रैमासमा भने सरकारले ९७ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ उठाइनेछ ।
यसरी सरकारले चालु आर्थिक वर्षभरि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको हो ।
