काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जा कम्पनी प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ ।
सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न भएको उक्त प्लान्टको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् कपनस्थित ईभी वर्कसपमा सवारीसाधन चार्जिङ, मर्मत तथा सर्भिसिङलगायतका काममा प्रयोग गरिनेछ ।
उद्घाटन कार्यक्रममा सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले सिप्रदी विद्युतीय सवारीसाधनको बिक्रीमा मात्र सीमित नरही यसको सम्पूर्ण इकोसिस्टमलाई वातावरणमैत्री र दिगो बनाउने दिशामा अघि बढिरहेको बताए ।
ईभीको प्रयोगसँगै त्यसलाई चार्ज गर्ने तथा मर्मत गर्ने पूर्वाधार पनि स्वच्छ ऊर्जामा आधारित हुनुपर्ने भन्दै उनले कपन वर्कसपमा सोलार प्लान्ट स्थापना त्यसैको निरन्तरता भएको बताए ।
प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले विद्युतीय सवारीको वास्तविक दिगोपन त्यसमा प्रयोग हुने ऊर्जाको स्रोत पनि स्वच्छ भएमा मात्र सम्भव हुने बताए । सौर्य ऊर्जामार्फत ईभी इकोसिस्टमलाई थप स्वच्छ बनाउन परियोजनाले योगदान पुर्याउने उनको भनाइ छ ।
कम्पनीका अनुसार प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधिको समेत प्रयोग गरिएको छ । सौर्य ऊर्जाको प्रयोगले वर्कसपको विद्युत् खर्च घटाउनुका साथै अटोमोबाइल सर्भिसिङ क्षेत्रमा हुने कार्बन उत्सर्जन कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला ईभी चार्जिङ, मर्मत तथा सर्भिसिङ पूर्वाधारलाई सौर्य ऊर्जासँग जोड्ने यो परियोजनाले व्यावसायिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोगलाई थप प्रोत्साहन गर्ने देखिएको छ ।
