काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १२ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ अर्ब १८ करोड रुपैयाँ थियो।
बीमाशुल्क आर्जनसँगै कम्पनीको खुद नाफामा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३५ करोड २ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको नाफा ८.५४ प्रतिशतले बढेको हो।
दाबी भुक्तानी र खर्च बढ्यो
कम्पनीको खुद दाबी भुक्तानी पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीले १३ अर्ब ६४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी ११ अर्ब ९६ करोड रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको कुल खर्च १४ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ।
रिटेन्ड अर्निङमा भने गिरावट
नाफा बढे पनि कम्पनीको रिटेन्ड अर्निङ भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ समीक्षा अवधिमा घटेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ५९ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २१६ रुपैयाँ २३ पैसा र मूल्य–आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ।
