काठमाडौं । नेपाली दुई पाङ्ग्रे बजारमा नयाँ ब्रान्ड र मोडल थपिने क्रम तीव्र भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नयाँ सवारी सार्वजनिक गर्ने प्रमुख मञ्च बनेको छ। एक्स्पोमा पेट्रोलदेखि विद्युतीयसम्मका नयाँ मोडल सार्वजनिक भइरहेका छन्। २ लाख ७७ हजार ९९९ रुपैयाँको इलेक्ट्रिक स्कुटरदेखि ३८ लाख रुपैयाँको सुपरस्पोर्ट मोटरसाइकलसम्मका सवारी एउटै प्रदर्शनीमा देखिएका छन्। यसले नेपाली दुई पाङ्ग्रे बजारमा बढ्दो प्रतिस्पर्धा र उपभोक्ताको बदलिँदो रुचिलाई समेत संकेत गरेको छ।
२ लाख ७७ हजारदेखि ३८ लाखसम्म, एउटै एक्स्पोमा फरक–फरक बजार
नाइमामा सार्वजनिक भएका नयाँ दुई पाङ्ग्रे सवारीको मूल्य दायरा हेर्दा कम्पनीहरूले बजारको एउटै वर्गलाई लक्षित गरेका छैनन्। बजेट इलेक्ट्रिक स्कुटरदेखि प्रिमियम सुपरस्पोर्ट मोटरसाइकलसम्मका उत्पादन ल्याएर व्यवसायीले बजारको फरक–फरक उपभोक्ता समूह समेट्ने प्रयास गरेका छन्।
नेपालका लागि बिगस इलेक्ट्रिकको आधिकारिक वितरक बिगस अटोले २ लाख ७७ हजार ९९९ रुपैयाँको ऊहाव म्याक्स प्लस र ३ लाख २९ हजार ९९९ रुपैयाँको सी १२ म्याक्स आर सार्वजनिक गरेको छ। त्यस्तै, वैद्य अर्गनाइजेसनले एथर रिज्टा जेडको एलआर भेरियन्ट ३ लाख ७९ हजार ९०० रुपैयाँमा बिक्री सुरु गरेको छ।
एथर रिज्टा जेड एलआरमा २.७ किलोवाट आवरको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिन्छ। ४ घण्टा १० मिनेटमा पूर्ण चार्ज हुने यो मोडलले रिज्टा सिरिजलाई तुलनात्मक रूपमा कम मूल्यमा विस्तार गरेको छ।
अर्कोतर्फ, ट्रायम्फले ६ लाख ५० हजार रुपैयाँको स्पिड टी४ सार्वजनिक गरेको छ। ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको यस मोटरसाइकलले २९ हर्सपावर र ३१ एनएम टर्क उत्पादन गर्छ। ६ स्पिड गियरबक्स रहेको यो मोडल नेपालमा उपलब्ध ट्रायम्फमध्ये सबैभन्दा कम मूल्यको बनेको छ।
मोर्बिडेलीले ६ लाख २० हजार रुपैयाँको टी२५० एक्स सार्वजनिक गरेको छ भने अल्ट्राभायोलेट एक्स४७ को मूल्य भेरियन्टअनुसार ६ लाख ८४ हजार ९०० रुपैयाँदेखि १० लाख ४० हजार रुपैयाँसम्म तोकिएको छ।
बजारको अर्को छेउमा भने जेडएक्स मोटोको जेडएक्स ८२० आरआर छ। ८१८.८ सीसीको तीन सिलिन्डर इन्जिन भएको यो सुपरस्पोर्ट मोटरसाइकल एक्स्पो अवधिभर ३८ लाख रुपैयाँमा उपलब्ध गराइएको छ। एक्स्पोपछि यसको मूल्य ४४ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। १३२ बीएचपी पावर र ८० एनएम टर्क उत्पादन गर्ने यो मोटरसाइकल नाइमामा सार्वजनिक भएकामध्ये सबैभन्दा महँगो दुई पाङ्ग्रे सवारी हो।
टिभीएसदेखि बजाजसम्म, स्थापित ब्रान्ड पनि नयाँ मोडलको दौडमा
नयाँ ब्रान्ड मात्रै होइन, नेपाली बजारमा लामो समयदेखि स्थापित कम्पनीहरूले समेत एक्स्पोलाई नयाँ उत्पादन विस्तारको अवसरका रूपमा प्रयोग गरेका छन्।
टिभीएसले एनटर्क सिरिजमा १५० सीसीको नयाँ एनटर्क १५० थपेको छ। स्पोर्टी डिजाइन, कनेक्टिभिटी र आधुनिक प्रविधिलाई जोड दिइएको यो स्कुटरले १२५ सीसीभन्दा माथिको स्कुटर बजारमा कम्पनीको उपस्थिति विस्तार गर्ने लक्ष्य बोकेको देखिन्छ।
टिभीएसले नै अपाचे सिरिजअन्तर्गत आरटीएक्स ३०० पनि सार्वजनिक गरेको छ। एड्भेन्चर तथा प्रिमियम मोटरसाइकलतर्फ बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले नयाँ डिजाइन, इन्जिन प्रविधि र राइडिङ फिचरसहितको मोडल ल्याएको हो।
बजाजले पनि चेतक सिरिजमा सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ। विद्युतीय स्कुटर बजारमा चेतकको उपस्थितिलाई विस्तार गर्ने रणनीतिअन्तर्गत यी मोडल ल्याइएको देखिन्छ।
हंसराज हुलासचन्द एन्ड कम्पनीले ट्रायम्फ स्पिड टी४ मार्फत प्रिमियम ब्रान्डलाई तुलनात्मक रूपमा कम मूल्यको सेग्मेन्टमा विस्तार गरेको छ। यसले नेपालमा प्रिमियम मोटरसाइकल बजार अब महँगा र सीमित मोडलमा मात्रै केन्द्रित नरहेको संकेत गर्छ।
विद्युतीय सवारीमा बढ्दो दाउ, तर पेट्रोल मोटरसाइकलको बजार पनि छाडेनन्
नाइमामा सार्वजनिक भएका मोडलको संरचना हेर्दा विद्युतीय दुई पाङ्ग्रे सवारीप्रति व्यवसायीको चासो स्पष्ट देखिन्छ। बिगस, एथर, अल्ट्राभायलेट र बजाजका नयाँ तथा थपिएका मोडलले इलेक्ट्रिक सेग्मेन्टमा प्रतिस्पर्धा बढाएका छन्।
तर, पेट्रोल मोटरसाइकलतर्फ पनि कम्पनीहरूको लगानी रोकिएको छैन। ट्रायम्फ, टिभीएस, मोर्बिडेली र जेडएक्स मोटोका नयाँ मोडलले पेट्रोल इन्जिनमा आधारित बजार अझै महत्वपूर्ण रहेको देखाउँछन्। विशेषगरी प्रिमियम, एड्भेन्चर र परफर्मेन्स सेग्मेन्टमा पेट्रोल मोटरसाइकलको मागलाई व्यवसायीले निरन्तर पछ्याइरहेका छन्।
यसपटकको एक्स्पोमा देखिएको अर्को महत्वपूर्ण पक्ष मूल्यको फराकिलो दायरा हो। एउटै बजारमा ३ लाख रुपैयाँभन्दा कम मूल्यका इलेक्ट्रिक स्कुटरदेखि ४० लाख रुपैयाँ नजिकका सुपरस्पोर्ट मोटरसाइकलसम्मका विकल्प उपलब्ध भएका छन्। यसले दुई पाङ्ग्रे बजार अब सामान्य आवागमनका लागि मात्रै नभई प्रिमियम, एड्भेन्चर, स्पोर्ट्स र इलेक्ट्रिक अनुभवका आधारमा समेत विभाजित हुँदै गएको देखाउँछ।
नयाँ ब्रान्डको प्रवेश र स्थापित कम्पनीको नयाँ मोडल विस्तारले प्रतिस्पर्धा बढाएसँगै ग्राहकका लागि विकल्प पनि फराकिलो भएको छ। मूल्यसँगै रेन्ज, ब्याट्री क्षमता, इन्जिन पावर, प्रविधि, डिजाइन, कनेक्टिभिटी र बिक्रीपछिको सेवाबीच हुने प्रतिस्पर्धाले आगामी दिनमा कुन ब्रान्डले बजारमा आफ्नो हिस्सा बढाउँछ भन्ने निर्धारण गर्नेछ।
नाइमामा देखिएको मोडलको बाढीलाई केवल एक्स्पोकेन्द्रित लन्चका रूपमा मात्र हेर्न मिल्दैन। यो नेपाली दुई पाङ्ग्रे बजार पेट्रोलबाट विद्युतीयतर्फ सर्दै गर्दा त्यसैसँगै प्रिमियम र एड्भेन्चर सेग्मेन्ट पनि विस्तार भइरहेको संकेत हो। अब कम्पनीहरूका लागि चुनौती नयाँ मोडल ल्याउनु मात्र नभई मूल्य, प्रविधि र बिक्रीपछिको सेवामार्फत ग्राहकलाई टिकाइराख्नु हुनेछ।
