काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शन सुधार गरेको छ। कम्पनीको खुद नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ थियो।
नाफासँगै कम्पनीको बीमा व्यवसाय पनि विस्तार भएको छ। गत आवमा खुद बीमाशुल्क आर्जन ६.६५ प्रतिशतले बढेर २१ अर्ब १४ करोड ५४ लाख १९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आवमा ३३ अर्ब ४६ करोड ४६ लाख ९९ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले अघिल्लो आवमा ३२ अर्ब ३३ करोड १२ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो।
यस्तै, गत आवमा कम्पनीको कुल खर्च ३० अर्ब ६८ करोड ७५ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो खर्च २९ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ थियो।
एलआईसी नेपालको जीवन बीमा कोषमा भने थप बलियो वृद्धि देखिएको छ। अघिल्लो आवमा १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको जीवन बीमा कोष गत आवमा बढेर १ खर्ब ४६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा कोष करिब १३ अर्ब ८९ करोड रुपैयाँले बढेको हो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा ७७ करोड ३५ लाख ५४ हजार रुपैयाँ सञ्चित छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.८७ रुपैयाँ रहेको छ।
नाफा र बीमाशुल्क आर्जनसँगै जीवन बीमा कोषमा भएको विस्तारले एलआईसी नेपालको वित्तीय अवस्थामा सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको विवरण भने अपरिष्कृत भएकाले अन्तिम वित्तीय अवस्था लेखापरीक्षणपछि थप स्पष्ट हुनेछ।
