काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा दुई दिनमै ५५ हजारभन्दा बढी दर्शक पुगेका छन्। मंगलबारदेखि सुरु भएको एक्स्पोमा विद्युतीय सवारीसाधन र नयाँ मोडलप्रति उपभोक्ताको आकर्षण बढ्दो देखिएको आयोजकले जनाएको छ।
एक्स्पोको दोस्रो दिन बुधबार मात्रै २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्। उद्घाटनका दिन मंगलबार २९ हजारभन्दा बढी दर्शक पुगेका थिए। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।
एक्स्पोमा पुगेका उपभोक्ताले विशेषगरी सवारीको ब्याट्री क्षमता, मोटर, रेन्ज र आफ्टर सेल्स सर्भिसबारे चासो देखाएका छन्। ग्राहक तान्न कम्पनीहरूले पनि मूल्य छुटदेखि बिमा, सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जासम्मका सुविधा अघि सारेका छन्।
बुधबार विभिन्न ब्रान्डले थप चार नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिन मंगलबार मात्रै विभिन्न कम्पनीले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनमा राखिएका छन्। नयाँ प्रविधि र मोडल प्रत्यक्ष हेर्न तथा मूल्य र सुविधाबारे जानकारी लिन उपभोक्ताको भीड बढेको आयोजकको भनाइ छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण ६ दिनसम्म चल्नेछ। एक्स्पो साउन ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराएका छन्।
एक्स्पोको को–स्पोन्सर Global IME Bank Limited रहेको छ। बैंकिङ पार्टनरमा NMB Bank Limited र Siddhartha Bank Limited छन्। इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन्।
