Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

६ वर्षपछि एनआरएन फन्डलाई विदेशी मुद्रामै आईपीओ निकाल्न सेबोनको बाटो खुला, लगानी कहाँ हुन्छ ?

अ+ अ-

काठमाडौं । गैरआवासीय नेपालीको सहभागितामा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार धितोपत्र निष्कासनसम्बन्धी नियमावली संशोधन गर्दै फन्डलाई विदेशी मुद्रामा लगानी भित्र्याउन र प्रतिफल सोही मुद्रामा फिर्ता लैजान सक्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाअनुसार फन्डले जारी पुँजीको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईका अनुसार विदेशी मुद्रामै लगानी फिर्ता लैजान सक्ने गरी आईपीओ निष्कासनको स्वीकृति पाउने यो पहिलो एनआरएन फन्ड हो ।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने सहज वातावरण बनाउन लामो समयदेखि प्रयास हुँदै आएको थियो । विदेशी मुद्रामा आईपीओ जारी गर्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रक्रिया करिब ६ वर्षदेखि रोकिएको थियो । नियमावली संशोधनसँगै अब उक्त प्रक्रिया अघि बढ्ने भएको हो ।

१० अर्बको फन्ड, ५० अर्ब पुर्‍याउने लक्ष्य

फन्डको अधिकृत र जारी पुँजी दुवै १० अर्ब रुपैयाँ रहेको छ । जारी पुँजीमध्ये १० प्रतिशत एनआरएन संस्थापक प्रवर्द्धक र ५ प्रतिशत नेपाल सरकारको हिस्सा रहेको छ । बाँकी ८५ प्रतिशत हिस्सा आईपीओमार्फत सर्वसाधारण तथा गैरआवासीय नेपालीबाट जुटाइनेछ ।

फन्डले आगामी पाँच वर्षमा आफ्नो पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । त्यसका लागि थप आईपीओसँगै करिब १० अर्ब रुपैयाँ बराबरको बन्ड तथा डिबेन्चर जारी गर्ने योजना रहेको भट्टराईले बताएका छन् ।

विदेशमा रहेका नेपालीलाई लगानीमा जोड्न फन्डले ‘डायस्पोरा इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम’ समेत विकास गरेको छ । यसमार्फत विदेशमै बसेर बैंक खाता खोल्ने, डिम्याट खाता सञ्चालन गर्ने तथा लगानीसम्बन्धी प्रक्रिया पूरा गर्न सकिने बताइएको छ ।

जलविद्युतदेखि पर्यटन र पूर्वाधारसम्म लगानी

फन्डले संकलन गरेको रकम मुख्यतः जलविद्युत, ऊर्जा, सडक, पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, सहरीकरण, स्वास्थ्य, शिक्षा तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने योजना बनाएको छ ।

फन्डले नेपालमा लगानीका अवसरबारे जानकारी दिन विभिन्न देशमा ‘ग्लोबल रोड शो’ तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।

२०७७ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको फन्डले लामो कानुनी तथा नियामकीय प्रक्रियापछि आईपीओ निष्कासनको बाटो पाएको हो । फन्डका अनुसार यसको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नु हो ।

विदेशी मुद्रामै लगानी भित्र्याउन सकिने व्यवस्थाले नेपालमा वैदेशिक पुँजी ल्याउन सहज हुने र विदेशी मुद्रा सञ्चितिसँगै देशको शोधनान्तर स्थितिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

2