काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ तथा सन् २०२५ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ देखि व्यावसायिक उत्पादन तथा कारोबार सुरु गरेको हो ।
कम्पनीले दैनिक २ हजार ९५० टन क्लिङ्कर उत्पादन गर्न सक्ने क्षमताको युनिट सञ्चालन गरिरहेको छ । त्यस्तै, दैनिक १ हजार टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने थप युनिट निर्माणको प्रक्रियामा रहेको छ । कम्पनीले दैनिक २ हजार ८ सय टन सिमेन्ट उत्पादनका लागि लाइसेन्ससमेत लिएको छ ।
कम्पनीको क्लिङ्कर उत्पादन क्षमता उपयोग गत आवको ९ महिनामा बढेर ४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा क्षमता उपयोग २५ प्रतिशत मात्र थियो । क्षमता उपयोगमा सुधार आए पनि प्लान्ट निर्माणमा भएको ठूलो लगानी र लिएको ऋणको तुलनामा उपयोग अझै न्यून रहेको छ ।
कम्पनीको कुल ऋण तथा सञ्चालन आम्दानी अनुपात १३.३ गुणा रहेको छ । क्लिङ्कराइजेसन युनिट निर्माण गर्दा कम्पनीले ७९ः२१ को ऋण–इक्विटी संरचना अपनाएको थियो । उक्त युनिट निर्माणमा मात्रै १३ अर्ब २३ करोड ७० लाख रुपैयाँ लगानी भएको छ ।
कारोबार बढेसँगै कम्पनीको ऋण भुक्तानी क्षमतामा पनि सुधार देखिएको छ । गत आवको ९ महिनामा कम्पनीको ऋण सेवा कभरेज अनुपात १ गुणा पुगेको छ । सन् २०२४ मा यस्तो अनुपात ०.३ गुणा मात्र थियो ।
यसैबीच कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १३ अर्ब ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा १० अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जाको रेटिङ रहेको छ ।
चौधरी ग्रुपले सन् २०१३ देखि अर्को सीजी सिमेन्ट इन्डष्ट्रिजमार्फत दैनिक १ हजार ५ सय टन सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
