काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड नोक्सानीको चक्र तोड्दै पहिलोपटक नाफामा फर्किएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी ३ अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीलाई नाफामा फर्काउन विद्युत् बिक्री आम्दानीमा आएको ठूलो सुधारले मुख्य भूमिका खेलेको छ। गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ६ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ थियो। यसअनुसार एक वर्षमै विद्युत् बिक्री आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ अर्थात् करिब ५४ प्रतिशतले बढेको छ।
विद्युत् बिक्री बढेसँगै कम्पनीको सञ्चालन नाफामा पनि ठूलो उछाल आएको छ। अघिल्लो आवमा १ अर्ब ९१ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत आवमा बढेर ६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अर्थात् सञ्चालन नाफा करिब २१८ प्रतिशतले बढेको हो।
कम्पनीको वित्तीय लागतमा आएको कमीले पनि नाफामा फर्किन सहयोग गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको वित्तीय लागत गत आवमा घटेर ५ अर्ब १५ करोड रुपैयाँमा झरेको छ। कर्जाको ब्याजदर घट्दा कम्पनीलाई करिब ४८ करोड रुपैयाँ वित्तीय लागतमा राहत भएको छ।
त्यस्तै, प्रशासनिक तथा परियोजना खर्च पनि घटेको छ। अघिल्लो आवमा ९६ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो खर्च गत आवमा ६३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। विदेशी विनिमयतर्फको घाटासमेत २४ करोड ४९ लाख रुपैयाँबाट घटेर ७ करोड ९९ लाख रुपैयाँमा झरेको छ।
यी सुधारको संयुक्त प्रभावले ३ अर्ब ६८ करोड रुपैयाँको भारी नोक्सानीमा रहेको कम्पनीलाई एकै वर्षमा ९२ करोड ५९ लाख रुपैयाँ नाफामा पुर्याएको हो।
तर, नाफामा फर्किए पनि अपर तामाकोशीको वित्तीय चुनौती सकिएको छैन। कम्पनीमाथि अझै ठूलो ऋणको भार छ। असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण मात्रै ६७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, सञ्चित नोक्सानी करिब १२ अर्ब ६३ करोड रुपैयाँ छ।
कम्पनीको कुल इक्विटी करिब ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ। यसले कम्पनी सञ्चालनबाट बलियो आम्दानी गर्न सक्ने अवस्थामा पुगे पनि विगतको ऋण र सञ्चित घाटाको दबाबबाट अझै पूर्ण रूपमा बाहिरिन बाँकी रहेको देखाउँछ।
नाफामा फर्किएसँगै प्रतिसेयर आम्दानी पनि सकारात्मक बनेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ पुगेको छ। तर प्रतिसेयर नेटवर्थ भने ४४ रुपैयाँ ४८ पैसामै सीमित छ।
अपर तामाकोशीको पछिल्लो वित्तीय विवरणले एउटा महत्वपूर्ण परिवर्तन देखाएको छ। लामो समयदेखि घाटा र उच्च वित्तीय लागतको दबाबमा रहेको कम्पनी अहिले विद्युत् बिक्री आम्दानी बढाएर सञ्चालन नाफा बलियो बनाउने चरणमा पुगेको छ। तर ६७ अर्बभन्दा बढी दीर्घकालीन ऋण र १२ अर्बभन्दा बढी सञ्चित घाटाका कारण नाफामा फर्किनु मात्रै पर्याप्त छैन। आगामी वर्षहरूमा ऋण व्यवस्थापन, ब्याज खर्च र निरन्तर विद्युत् उत्पादनले कम्पनीको वित्तीय सुधार टिकाउ हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्नेछ।
