रुकुमपूर्व। भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी आवागमनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमद्वारा जारी सूचनाअनुसार आज बेलुकी ७ः०० बजेदेखि साउन ३० गते बिहान ७ः०० बजेसम्म मध्यपहाडी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । प्रशासनले दिउँसोको समयमा मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
