काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले अपूर्ण तथा सन्दर्भविहीन सूचनाले होटलको व्यावसायिक प्रतिष्ठामा असर पार्नुका साथै निजी क्षेत्र र पर्यटन उद्योगको लगानी वातावरणमै नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात रहेको टिप्पणी सार्वजनिक भएको थियो। त्यसको प्रतिवाद गर्दै चेम्बरले ठूलो आकारका पाँचतारे होटलमा दैनिक ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु सामान्य रहेको जनाएको छ।
चेम्बरका अनुसार दैनिक खपतको तुलनामा करिब २०० सिलिन्डर मौज्दात रहनुलाई मात्रै आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोड्न मिल्दैन। होटलको सञ्चालनको आकार, दैनिक खपत र आपूर्ति व्यवस्थालाई समेत हेरेर मात्रै मौज्दातको मूल्यांकन गर्नुपर्ने चेम्बरको भनाइ छ।
चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार र कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी तथ्य अपूर्ण राखेर गरिने प्रचारले निजी क्षेत्रको मनोबल र लगानी वातावरणमा असर पार्ने चेतावनी दिएको छ।
होटल तथा पर्यटन व्यवसायसहित अन्य क्षेत्रमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए सम्बन्धित निकायले व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद तथा समन्वय गरेर समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ।
नियमन आवश्यक भए पनि वैध व्यवसायलाई अनावश्यक दबाब नदिई सहजीकरण गर्ने वातावरण बनाउनुपर्ने चेम्बरको जोड छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रप्रतिको विश्वास कायम राख्न सकिने उसको धारणा छ।
