काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्नुपर्ने बताएकी छन्।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा सचिव दवाडीले विद्युत् उत्पादन, प्रसारण, वितरण र मागबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताइन्।
उनले प्राधिकरणले विद्युत् उत्पादन र वितरण विस्तारसँगै गुणस्तरीय तथा भरपर्दो सेवा, आन्तरिक खपत वृद्धि र विद्युत् व्यापार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। विद्युत् उत्पादन, राष्ट्रिय प्रणाली सुदृढीकरण तथा व्यापारमा उल्लेख्य प्रगति भए पनि अब संस्थाको सफलता उत्पादन र वितरण क्षमताबाट मात्र मापन गर्न नहुने उनको भनाइ छ।
उपभोक्ताले कति भरपर्दो र सुरक्षित विद्युत् सेवा पाइरहेका छन्, नयाँ जडान प्रक्रिया कत्तिको सहज छ तथा प्राविधिक समस्या र गुनासो कति छिटो समाधान हुन्छ भन्ने विषयलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्ने उनले बताइन्।
जलविद्युत्सँगै सौर्यलगायत नवीकरणीय ऊर्जाको उत्पादन बढिरहेको अवस्थामा उत्पादित विद्युत् उपभोक्ता र बजारसम्म पुर्याउन प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीको विकास पनि समान गतिमा अघि बढाउनुपर्ने उनले बताइन्।
‘उत्पादन आयोजनाहरू तयार हुने तर प्रसारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछ। हामीले उत्पादन, प्रसारण, वितरण र मागबीच सन्तुलन कायम राख्नुपर्दछ,’ उनले भनिन्।
उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु सरकारको प्रमुख रणनीति रहेको दवाडीले बताइन्। औद्योगिक क्षेत्र, कृषि तथा सिँचाइ, विद्युतीय यातायात तथा घरायसी प्रयोजनमा इन्डक्सन र अन्य विद्युतीय उपकरणको प्रयोग बढाएर व्यापार घाटा न्यूनीकरण तथा आर्थिक रूपान्तरणमा योगदान पुर्याउन सकिने उनको भनाइ छ।
नेपालको विद्युत् क्षेत्र अन्तरदेशीय बजारतर्फ समेत विस्तार भइरहेको उल्लेख गर्दै उनले भारतसँग विद्युत् व्यापार निरन्तर विस्तार भइरहेको र बंगलादेशसँग पनि विद्युत् व्यापारको नयाँ अध्याय सुरु भइसकेको बताइन्।
दक्षिण एसियाली स्वच्छ ऊर्जा बजारमा नेपालको विद्युत्लाई जोड्न अन्तरदेशीय प्रसारण संरचना सुदृढीकरण, प्रणालीको विश्वसनीयता, व्यापारिक क्षमता अभिवृद्धि तथा नियामकीय समन्वयलाई थप मजबुत बनाउनुपर्ने उनले बताइन्।
ऊर्जा क्षेत्रको बढ्दो आकार, निजी तथा वैदेशिक लगानी र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न संस्थागत संरचना तथा कार्यप्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको उनको भनाइ छ। विगतका उपलब्धिलाई संरक्षण गर्दै प्रतिस्पर्धी विद्युत् व्यापार बजारका चुनौती सामना गर्न ऊर्जा क्षेत्रका संस्थालाई थप व्यवस्थित, विशिष्टीकृत, पारदर्शी र कार्यसम्पादनमा आधारित बनाउनुपर्ने उनले बताइन्।
प्राधिकरणका कर्मचारीलाई सुशासन र संस्थागत अनुशासन कायम गर्दै नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा दिन निर्देशन दिँदै दवाडीले उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा कुनै सम्झौता नगर्न आग्रह गरिन्।
उनले गुणस्तरीय सेवा विस्तार, पूर्वाधारको समयबद्ध विकास, विद्युत् प्रणालीको विश्वसनीयता वृद्धि, आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत् व्यापार विस्तार, सुशासन, पारदर्शिता र वित्तीय दिगोपनालाई आगामी दिनका साझा प्राथमिकता बनाएर अघि बढ्नुपर्ने बताइन्।
