काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ ऋणपत्र बाँडफाँट गरेको छ। बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको उक्त ऋणपत्र भदौ १ गते बाँडफाँट गरेको हो।
१० वर्ष अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरिएको थियो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता विभिन्न संघसंस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको हो।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको थियो। ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताले प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी ब्याज प्राप्त गर्नेछन्।
बैंकले दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले उक्त ऋणपत्र निष्कासन गरेको जनाएको छ।
