काठमाडौं । गुगलले आफ्ना पिक्सेल स्मार्टफोन, स्मार्टवाच र वायरलेस इयरबड्सको उत्पादन चीनबाट हटाएर भारत र भियतनाममा सार्ने तयारी गरेको छ। अमेरिका र चीनबीच बढ्दो व्यापारिक तथा प्रविधिगत तनावका कारण आपूर्ति शृङ्खला विविधीकरण गर्न गुगलले यस्तो रणनीति अघि सारेको निक्केई एसियाले जनाएको छ।
गुगलले सन् २०२७ सम्ममा पिक्सेलका सबै उत्पादन चीनबाहिर सार्ने लक्ष्य राखेको छ। कम्पनीले पछिल्ला वर्षमा चीनमा निर्भरता घटाउँदै भारत र भियतनाममा उत्पादन क्षमता विस्तार गर्दै आएको छ।
भियतनाम गुगलको उत्पादन रणनीतिमा मुख्य केन्द्र बन्ने देखिएको छ। यस वर्ष त्यहाँ उच्चस्तरीय पिक्सेल स्मार्टफोनको विकास तथा उत्पादन सफल भएपछि कम्पनी चीनबाट उत्पादन सार्ने योजनामा थप विश्वस्त बनेको रिपोर्टमा उल्लेख छ।
स्मार्टफोन उत्पादन स्मार्टवाच र वायरलेस इयरबड्सको तुलनामा बढी जटिल मानिन्छ। भियतनाममा उच्चस्तरीय पिक्सेल उत्पादन सम्भव भएपछि गुगलले सन् २०२७ को लक्ष्य पूरा गर्न सहज हुने अपेक्षा गरेको छ।
यो योजना कार्यान्वयन भए गुगल सामसङपछि स्मार्टफोन उत्पादन पूर्ण रूपमा चीनबाहिर सार्ने दोस्रो ठूलो विश्वव्यापी स्मार्टफोन ब्रान्ड बन्नेछ। गुगलले चीनमा पिक्सेल फोन बिक्री नगर्ने भएकाले उत्पादन सार्दा चिनियाँ बजारमा प्रत्यक्ष असर नपर्ने पनि रिपोर्टमा उल्लेख छ।
गुगलले उत्पादन चीनबाट सार्दै गर्दा पिक्सेलको बिक्रीसमेत बढाउने लक्ष्य राखेको छ। कम्पनीले यस वर्ष पिक्सेलको ढुवानी गत वर्षको करिब १ करोड २० लाख थानबाट ८ देखि १० प्रतिशतसम्म बढ्ने अपेक्षा गरेको छ।
मेमोरी चिपको मूल्य बढिरहेका बेला पनि गुगलले बिक्री विस्तारलाई प्राथमिकता दिएको छ। कम्पनीले पिक्सेललाई आफ्ना जेमिनाई कृत्रिम बौद्धिकता सेवाहरू थप प्रयोगकर्तासम्म पुर्याउने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ।
मेमोरी चिपको बढ्दो लागत नियन्त्रण गर्न गुगलले माइक्रोन, सामसङ र एसके हाइनिक्ससँग आपूर्ति सम्झौताका विषयमा छलफल गरिरहेको छ। कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायमा प्रयोग हुने चिपको मागलाई स्मार्टफोनका लागि आवश्यक चिपसँग जोडेर आपूर्तिमा आफ्नो वार्ताशक्ति बढाउने प्रयास गरिरहेको छ।
यसैबीच, एप्पलले आफ्ना केही उत्पादनको मूल्य बढाइरहेका बेला गुगलले पिक्सेलको बजार हिस्सा विस्तार गर्ने अवसर देखेको छ। अमेरिका, जापान र युरोपमा एप्पलका उत्पादन महँगिँदा पिक्सेलले प्रतिस्पर्धात्मक लाभ लिन सक्ने विश्लेषण गरिएको छ।
गुगलले हालै पिक्सेल ११, पिक्सेल ११ प्रो र पिक्सेल ११ प्रो फोल्ड सार्वजनिक गरेको छ। नयाँ पिक्सेलको २५६ जीबी संस्करणको सुरुवाती मूल्य ८९९ अमेरिकी डलर छ। अघिल्लो पुस्ताको पिक्सेल १० को १२८ जीबी संस्करणको सुरुवाती मूल्य ७९९ डलर थियो।
मेमोरी चिपको अभाव र बढ्दो लागतले विश्वका स्मार्टफोन निर्माता प्रभावित छन्। एप्पल र हुवावेले पनि ढुवानी बढाउने लक्ष्य राखेका छन् भने साओमी, ओप्पो र भिभोले उच्च लागतका कारण आफ्ना ढुवानी अनुमान घटाएका छन्।
