काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस ई–टेरेन पिकअपका ४४ वटा बुकिङ भएको जनाएको छ। बुकिङ हुनेमा कम्फर्ट भर्सन ३६ र प्रिमियम भर्सन ८ वटा छन्।
कम्पनीले करिब तीन साताअघि सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य रु ८८ लाख तोकेको थियो। एक्स्पो अवधिमा यसमा रु २ लाख छुट दिइएको थियो। त्यस्तै, रु १ करोड २८ लाख मूल्यको प्रिमियम भर्सनमा रु ५ लाख छुट उपलब्ध गराइएको थियो।
एक्स्पोका लागि मात्र घोषणा गरिएको छुट सुविधा ग्राहकको मागलाई ध्यानमा राख्दै भदौ १५ गतेसम्म निरन्तरता दिइएको कम्पनीले जनाएको छ। छुटसहितको बुकिङका लागि ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्नेछन्।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बजारमा आएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा आकर्षण बढाउन सफल भएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यसलाई रुचाएको कम्पनीले जनाएको छ।
आक्रामक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र सुविधासम्पन्न फिचरका कारण ई–टेरेन निजी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि पनि उच्च ग्राउन्ड क्लियरेन्स र विद्युतीय प्रविधिका कारण यो उपयोगी हुने कम्पनीले जनाएको छ।
हिमालय मोटरक्सले बिक्रीपछिको सेवाका लागि आवश्यक स्पेयर पार्ट्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार बिक्रीपछिको सेवा र सञ्चालन खर्चको किफायती पक्षले पनि ई–टेरेनप्रति ग्राहकको आकर्षण बढाएको छ।
