काठमाडौँ । नवलपरासीको धौवादी फलाम खानीबाट ठूलो परिमाणमा फलामको धाउ उत्खनन गर्ने तयारी अघि बढेको छ। धौवादी फलाम कम्पनी लिमिटेडले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो।
कम्पनीले तयार पारेको योजनाअनुसार खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
खानी उत्खननसम्बन्धी योजना स्वीकृत भएपछि फलामको भण्डार, गुणस्तर र व्यावसायिक उत्खननको सम्भावनाबारे थप अध्ययन अघि बढाइने कम्पनीले जनाएको छ। नेपालमै फलाम उत्पादन गरी आयात घटाउने उद्देश्यसहित धौवादी फलाम कम्पनी स्थापना गरिएको हो।
कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार भूमिगत फलामको अवस्था र गुणस्तर पत्ता लगाउन खानी क्षेत्रमा विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ सम्पन्न गरिएको छ। ड्रिलिङबाट निकालिएका नमुनाको परीक्षण तथा विश्लेषणका आधारमा खानीको व्यावसायिक सम्भावना थप मूल्याङ्कन भइरहेको छ।
हाल खानी सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ। त्यससँगै विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने प्रक्रिया पनि अघि बढाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार धौवादी खानी सञ्चालनमा आएपछि नेपालमा फलामजन्य वस्तुको उत्पादन बढ्नेछ। उत्पादित फलामले मुलुकको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए।
नेपालले फलाम तथा फलामजन्य सामग्रीका लागि ठूलो रकम विदेश पठाउँदै आएको अवस्थामा स्वदेशमै उत्पादन सुरु भए आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम हुनुका साथै देशभित्रै औद्योगिक गतिविधि विस्तार हुने सम्भावना छ।
खानी सञ्चालनसँगै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना हुने कम्पनीको अनुमान छ। खानी, प्रशोधन, ढुवानी तथा फलामजन्य उद्योगसँग जोडिएका क्षेत्रमा रोजगारीका अवसर बढ्ने र स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने अपेक्षा गरिएको छ।
तर धौवादी खानीलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी छन्। वातावरणीय स्वीकृति, विस्तृत परियोजना प्रतिवेदन, खानीको प्राविधिक तथा आर्थिक सम्भाव्यता, प्रशोधन प्रविधि र लगानी व्यवस्थापन टुंग्याउनुपर्नेछ।
खानीसम्म पुग्ने सडक तथा अन्य आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नतिको काम पनि भइरहेको कम्पनीले जनाएको छ। पूर्वाधार विस्तारसँगै उत्खनन र प्रशोधनका लागि आवश्यक संरचना तयार पार्ने काम अघि बढाइनेछ।
लामो समयदेखि चर्चामा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु भए नेपालमा खानीजन्य उद्योगको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। अहिलेको योजना र अध्ययन सफलतापूर्वक कार्यान्वयन भए स्वदेशी फलाम उत्पादनमार्फत आयात घटाउने लक्ष्यमा धौवादी महत्वपूर्ण आधार बन्न सक्छ।
