एजेन्सी । विद्युतीय सवारीपछि अब हवाई क्षेत्रमा पनि ब्याट्रीबाट चल्ने प्रविधिले व्यावसायिक उडानको सम्भावना देखाउन थालेको छ । स्विडेनको हार्ट एरोस्पेसले विकास गरेको पूर्ण विद्युतीय एक्स१ डेमोन्स्ट्रेटर विमानले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
न्यूयोर्कको प्लाट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलस्थित कम्पनीको परीक्षण केन्द्रबाट अगस्ट १२ मा गरिएको उडान करिब २७ मिनेट चलेको थियो । परीक्षणका क्रममा विमान १ हजार १०० फिट अर्थात् ३३५ मिटर उचाइसम्म पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्स१ को पूर्ण विद्युतीय प्रोपल्सन प्रणालीले परीक्षणका क्रममा १ मेगावाटभन्दा बढी ऊर्जा प्रदान गरेको थियो । करिब २५ हजार पाउन्डभन्दा बढी तौल रहेको विमानको उक्त उडानमा खपत भएको विद्युत्को लागत करिब ५ अमेरिकी डलर मात्र परेको दाबी गरिएको छ ।
हार्ट एरोस्पेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्डर्स फोर्सलुन्डले एक्स१ को परीक्षणले व्यावसायिक विमानको स्तरमा पूर्ण विद्युतीय उडान सम्भव हुने आधार प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार विद्युतीय व्यावसायिक विमानले एयरलाइन्सको सञ्चालन लागत घटाउनुका साथै यात्रुको हवाई यात्रा पनि सस्तो बनाउन सक्ने सम्भावना छ ।
एक्स१ को पखेटाको फैलावट १०६ फिट (३२.३ मिटर) र लम्बाइ ७६ फिट (२३.१ मिटर) रहेको छ । कम्पनीले परीक्षणको मुख्य उद्देश्य व्यावसायिक एयरलाइन सञ्चालनसँग मेल खाने स्तरमा विद्युतीय प्रणोदन प्रणालीको क्षमता परीक्षण गर्नु रहेको जनाएको छ ।
हार्ट एरोस्पेसले भविष्यमा साना विमानस्थललाई समेत जोड्ने गरी किफायती र कम प्रदूषण गर्ने क्षेत्रीय हवाई सेवा विकास गर्ने लक्ष्य राखेको छ । ब्याट्री प्रविधिको क्षमता बढ्दै गएसँगै छोटो दूरीका क्षेत्रीय उडानमा विद्युतीय विमान प्रयोग गर्ने सम्भावना बढिरहेको छ ।
विश्वभर हवाई इन्धनको मूल्यमा हुने उतारचढाव र उड्डयन क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउने दबाबबीच विद्युतीय विमान प्रविधिको विकासलाई महत्वपूर्ण मानिएको छ । इन्धनको सट्टा विद्युत् प्रयोग गर्न सके एयरलाइन्सको सञ्चालन खर्च र तेलको अन्तर्राष्ट्रिय बजारमा निर्भरता घटाउन सकिने अपेक्षा छ ।
एयर क्यानडाका कार्यकारी उपाध्यक्ष तथा सीएफओ जोन डी बर्टका अनुसार उड्डयन क्षेत्रको ऊर्जा रूपान्तरणका लागि सञ्चालन दक्षता, दिगो हवाई इन्धन र नयाँ विमान प्रविधिको विकास समान रूपमा आवश्यक छन् ।
