काठमाडौं । नेको इन्स्योरेन्सले पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम भुक्तानी गरेको छ।
काराकोरम पर्वत शृंखलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँच जना नेपाली नागरिक रहेका थिए।
सोही दुर्घटनामा ज्यान गुमाएका ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारलाई नेको इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको हो। उनीहरूको ट्रेकिङ तथा एक्सपेडिसन बीमा सेभेन समिट ट्रेक्समार्फत गरिएको थियो।
कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी दाबीको छानबिन तथा मूल्यांकन सम्पन्न भएपछि परिवारलाई शीघ्र रूपमा रकम भुक्तानी गरिएको हो। विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत उपलब्ध गराउनु बीमाको महत्वपूर्ण उद्देश्य रहेको कम्पनीले जनाएको छ।
सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले कठिन परिस्थितिमा नेको इन्स्योरेन्सले गरेको छिटो र सहज दाबी भुक्तानीले पीडित परिवारलाई राहत पुगेको बताए। उनले ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा शेर्पा समुदायसहित ठूलो जनशक्ति जोखिमपूर्ण अवस्थामा काम गर्ने भएकाले प्रभावकारी बीमा सुरक्षा आवश्यक रहेको बताए।
नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्का समयमा बीमित र परिवारलाई आर्थिक सुरक्षा दिने आधार भएको बताए। उनका अनुसार ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि बीमा सुरक्षा झन् महत्वपूर्ण छ।
कम्पनीले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
