काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन, दाबी प्रक्रिया तथा बीमालेख निर्माणजस्ता विषयमा निरन्तर अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्राथमिकता सदस्यता विस्तारका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नु रहेको बताए । सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र दक्ष रहेको उल्लेख गर्दै उनले उनीहरूको ज्ञान र क्षमतालाई संस्थागत तथा कानुनी रूपमा उपयोग गर्नुपर्ने बताए ।
नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली सर्भेयरहरूले कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्का समयमा जोखिम मूल्याङ्कन र दाबी फर्छ्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले बीमा क्षेत्रसँग सम्बन्धित संघसंस्थालाई सहभागी गराएर बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा संयुक्त अनुसन्धान गर्नुपर्ने बताए । इन्जिनियरिङ बीमालगायत प्राविधिक विषयमा नेपालमा व्यवस्थित अध्ययन र अनुसन्धानको आवश्यकता रहेको उनको भनाइ थियो ।
क्षेत्रीका अनुसार नेपाल बीमक संघले अन्डरराइटिङ, स्ट्यान्डर्ड फाइनान्स, पुनर्बिमा लगायतका प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ । अन्डरराइटिङसम्बन्धी विषयमा सात सदस्यीय प्राविधिक उपसमितिले काम गरिरहेको उनले जानकारी दिए ।
नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले सुरुदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए ।
अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको आधार बनाउनुपर्ने उनले बताए । निर्माले विगत पाँच वर्षदेखि नियमित जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित भइसकेको जानकारी दिँदै उनले अनुसन्धान तथा प्रकाशनमा रिसी र निर्माबीच सहकार्य गर्न सकिने बताए ।
नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक समस्याको पहिचान र समाधानका लागि नियमित अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।
रिसीलाई प्रभावकारी बनाउन नेपाल बीमक संघ, बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले आवश्यक सहयोग गर्नुपर्ने केसीले बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू बीमा व्यवसायका महत्वपूर्ण प्राविधिक जनशक्ति रहेको बताए । सर्भेयरको क्षमता अभिवृद्धि, तालिम तथा पेशागत विकासका लागि प्राधिकरणले रिसीसँग समन्वय गर्दै आएको उनले जानकारी दिए ।
उनका अनुसार रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्न सके सर्भेयरको व्यावसायिक क्षमता विकाससँगै प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्नेछ ।
लामिछानेले बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि अनुसन्धान आवश्यक रहेको बताए । रिसीले गर्ने अनुसन्धानले सर्भेयरको कार्यक्षेत्र निर्धारण, वर्गीकरण तथा नयाँ पोर्टफोलियो निर्माणमा प्राधिकरणलाई प्राविधिक सहयोग पुग्ने उनको भनाइ थियो ।
प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको जानकारी दिँदै लामिछानेले सर्भेयरको अनुभव, दक्षता र कार्यक्षेत्र निर्धारणसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रमका वक्ताहरूले बीमा क्षेत्रको सुधारका लागि अनुसन्धानका निष्कर्षलाई नीति निर्माण र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।
