काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नयाँ ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । ग्राहकले सुजुकी प्याभिलियनको स्टल बी८२ मा गाडी अवलोकन गर्न तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।
टर्बो इन्जिन र नयाँ ट्रान्समिसन
ब्रेजामा रहेको टर्बो बुस्टरजेट इन्जिनले ५ हजार ५०० आरपीएममा ८१ किलोवाट शक्ति तथा २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्युटन–मिटर टर्क उत्पादन गर्छ । इन्जिनलाई ६–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ ।
यसका साथै स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट ड्युअल भीभीटी इन्जिनको विकल्प पनि रहेको छ । यसमा ६–स्पिड म्यानुअल तथा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन उपलब्ध छ ।
नयाँ डिजाइन र आधुनिक सुविधा
नयाँ ब्रेजाको बाहिरी डिजाइनमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, नयाँ स्किड प्लेट, परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ तथा नयाँ प्रिसिजन–कट अलोय ह्विल राखिएको छ ।
इन्टेरियरमा गाढा खैरो र कालो ड्युअल–टोन थिम, मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२.५ फिल्टर, वायु गुणस्तर डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ सुविधा पनि छन् ।
१०.१ इन्चको स्मार्ट इन्फोटेनमेन्ट
ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहित स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन् ।
आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम साउन्ड सिस्टम र ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङ पनि गाडीमा राखिएको छ ।
सुरक्षामा नयाँ प्रविधि
नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल तथा हाई–टेन्साइल स्टिल प्रयोग गरिएको कम्पनीले जनाएको छ । ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङजस्ता सुरक्षा सुविधा छन् ।
तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा तथा अगाडि–पछाडिका पार्किङ सेन्सर पनि उपलब्ध छन् । कम्पनीका अनुसार नयाँ ब्रेजाले भारत एनसीएपीमा वयस्क र बालबालिका सुरक्षातर्फ ५–स्टार रेटिङ प्राप्त गरेको छ ।
नयाँ ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ ।
