काठमाडौं। बुधबार बिहान लेन्दे खोलामा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका पाँचवटा पेट्रोलपम्पमा क्षति पुर्याएको छ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार रसुवाको बेत्रावती आयल स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
एसोसिएसनका कार्यालय सचिव नारद भण्डारीका अनुसार बाढीले बेत्रावती पेट्रोलपम्पको संरचना पूर्ण रूपमा बगाएकाले तत्काल पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन।
‘बेत्रावती पेट्रोलपम्प पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मर्मत गरेर फेरि सञ्चालन गर्न सक्ने अवस्था नै छैन,’ भण्डारीले भने, ‘पेट्रोलपम्पका संरचनाहरू केही पनि बाँकी छैनन्।’
त्यस्तै, नुवाकोटका वनदेवी आयल स्टोर र उत्तरगया आयल स्टोर तथा धादिङका भीमसेन आयल स्टोर र धादिङ आयल स्टोरमा पनि बाढीले ठूलो क्षति पुर्याएको भण्डारीले जानकारी दिए।
बाढीबाट पेट्रोलपम्पका संरचना तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिसमेत प्रभावित हुन सक्ने जोखिम बढेको छ।
एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आफूहरू सक्रिय रहेको जनाएको छ।
‘यस विषम परिस्थितिमा पनि हामी सदाझैँ पेट्रोलियम पदार्थको नियमित आपूर्ति व्यवस्थालाई असहज हुन नदिन प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
बाढीबाट क्षतिग्रस्त पेट्रोलपम्पको सम्पत्ति मूल्यांकन तथा क्षतिको यकिन विवरण संकलनमा सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने अपेक्षा एसोसिएसनले गरेको छ।
