Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ठूला सेयरधनीले पाँच प्रतिशतभन्दा बढी सेयर बेच्दा १५ दिनअघि सूचना दिनुपर्ने

ठूला सेयरधनीले पाँच प्रतिशतभन्दा बढी सेयर बेच्दा १५ दिनअघि सूचना दिनुपर्ने
अ+ अ-

काठमाडौं। सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो कुल सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कारोबार हुनुभन्दा कम्तीमा १५ दिनअघि जानकारी दिनुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार सेयर बिक्रीको जानकारी सम्बन्धित कम्पनीलाई दिनुपर्नेछ र कम्पनीले नेप्सेमार्फत सर्वसाधारणलाई सार्वजनिक गर्नुपर्नेछ। यस्तो सूचना तीन महिनासम्म मान्य हुनेछ।

सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपानेले ठूला सेयरधनी कम्पनीबाट बाहिरिँदा त्यसको जानकारी सर्वसाधारणलाई दिन र बजारमा पारदर्शिता कायम गर्न नयाँ व्यवस्था गरिएको बताए।

कम्पनी ऐनअनुसार २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीमा ५ प्रतिशत वा सोभन्दा बढी मताधिकार तथा २५ करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीमा १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्तालाई आधारभूत सेयरधनी मानिन्छ।

मोबाइल कारोबार र डेमो ट्रेडिङमा जोड

सेबोनले दोस्रो बजारमा मोबाइल एपबाट सहज रूपमा कारोबार गर्न सकिने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको छ। नयाँ लगानीकर्ता तथा विद्यार्थीका लागि सञ्चालनमा रहेको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई पनि निरन्तर र अवरोधरहित बनाउन भनिएको छ।

त्यस्तै, बजार बन्द भएपछि निश्चित समयसम्म अर्डर राख्न सकिने ‘आफ्टर मार्केट अर्डर’ व्यवस्था प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको छ।

टिएमएसको आइटी अडिट र एआई निगरानी

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएको भन्दै नेप्सेलाई स्वीकृत प्रणालीको आइटी अडिट गरी प्रतिवेदन बोर्डमा बुझाउन भनिएको छ। प्रणालीलाई थप आधुनिक, सुरक्षित र प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ।

एआई वा अन्य स्वचालित प्रविधिबाट सेयर कारोबार भइरहेको छ कि छैन पहिचान गर्ने व्यवस्था गर्न पनि नेप्सेलाई भनिएको छ। अर्को व्यवस्था नभएसम्म त्यस्ता प्रविधिबाट आएका कारोबार आदेश रोक्न र लगानीकर्तालाई यसबारे जानकारी गराउन निर्देशन दिइएको छ।

फ्री फ्लोटका आधारमा नयाँ सूचकांक

सेबोनले हालको नेप्से सूचकांकलाई ‘अल इक्विटी इन्डेक्स’का रूपमा कायम राख्दै कारोबारका लागि उपलब्ध ‘फ्री फ्लोट’ सेयरका आधारमा नयाँ बेन्चमार्क इन्डेक्स विकास गर्न निर्देशन दिएको छ।

नयाँ सूचकांकका आधारमा सर्किट ब्रेकरको व्यवस्था पुनरवलोकन गरिनेछ। यससम्बन्धी सुझाव एक साताभित्र बोर्डमा बुझाउन भनिएको छ।

त्यस्तै, कम्पनीको पुँजी, प्रतिफल, तरलता र संस्थागत सुशासनका आधारमा कम्पनी वर्गीकरण तथा नयाँ सूचकांक विकास गर्न निर्देशन दिइएको छ। नेप्से–३० र उच्च बजार पुँजीकरण भएका कम्पनीका लागि छुट्टै सूचकांक बनाउन सकिने विकल्पसमेत अघि सारिएको छ।

कम्पनी सूचीकृत भएपछि पहिलो दिनको कारोबार मूल्य निर्धारण गर्ने व्यवस्था पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार थप वैज्ञानिक बनाउन निर्देशन दिइएको छ। सूचीकृत कम्पनीका आधिकारिक सूचना व्यवस्थित रूपमा सार्वजनिक गर्न छुट्टै पोर्टल सञ्चालन तथा प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम गर्न पनि नेप्सेलाई भनिएको छ।

सेबोनका अनुसार यी व्यवस्था पुँजी बजार विकास मार्गचित्र, २०८३ तथा चालू आर्थिक वर्षको पुँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार कार्यान्वयन गर्ने क्रममा अघि सारिएका हुन्।

2