काठमाडौं। नेपालमा पर्याप्त कच्चा पदार्थ उपलब्ध भए पनि सङ्कलन र प्रशोधनको उचित व्यवस्था नहुँदा छाला उद्योगले ठूलो सम्भावना उपयोग गर्न सकेका छैनन्।
छाला उद्योग व्यवस्थित गर्न सके वार्षिक पाँच अर्ब रुपैयाँसम्मका छालाजन्य वस्तु निर्यात गर्न सकिने व्यवसायीको दाबी छ।
छाला उद्योग महासंघका महासचिव मोहम्मद जुनैद इफ्तिखारका अनुसार हाल नेपालबाट मुस्किलले ५० करोड रुपैयाँ बराबरका छालाजन्य वस्तु निर्यात हुँदै आएको छ। अर्कोतर्फ जुत्ता, पेटी, झोला र पर्सजस्ता वस्तु ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका छन्।
देशभर हरेक वर्ष ठूलो संख्यामा खसीबोका, राँगाभैँसी वध भए पनि पर्याप्त छाला उद्योगसम्म पुग्दैन। कतिपय ठाउँमा मासुसँगै छाला उपभोग गर्ने र कतिपय ठाउँमा उचित सङ्कलन तथा संरक्षण नहुँदा छाला नष्ट हुने गरेको महासंघले जनाएको छ।
नेपालमा अहिले १२ वटा छाला उद्योगले वार्षिक करिब दुई करोड वर्गफिट छाला प्रशोधन गर्दै आएका छन्। चारवटा हड्डी उद्योगले वार्षिक करिब १७ हजार ८०० मेट्रिक टन हड्डीको धुलो उत्पादन गरिरहेका छन्।
महासंघका अनुसार मुलुकभर मासिक करिब ५० हजार राँगाभैँसी वध हुने गरे पनि उद्योगसम्म १२ हजार हाराहारीको मात्र छाला पुग्छ। त्यस्तै, मासिक करिब एक लाख खसीबोका वध हुने गरेकामा १५ हजारजति छाला मात्रै उद्योगसम्म पुग्ने गरेको छ।
व्यवसायीले वधशालामा छाला तथा हड्डी सुरक्षित रूपमा निकाल्ने उपकरणको व्यवस्था गरी त्यसबाट उत्पादित सामग्रीको बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले देशभित्रै छाला प्रशोधन र छालाजन्य वस्तुको उत्पादन बढाउन सके आयात प्रतिस्थापनसँगै निर्यात विस्तार गर्न सकिने बताएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका डा. मनोजकुमार शाहीले प्रशोधित छाला तथा छालाजन्य वस्तुको उत्पादन स्वदेशमै बढाउन सम्बन्धित कानूनको प्रभावकारी कार्यान्वयनमा अघि बढिरहेको बताएका छन्।
व्यवसायीका अनुसार कच्चा पदार्थको व्यवस्थित सङ्कलन र प्रशोधनको व्यवस्था गर्न सके छाला तथा हड्डी उद्योगले स्वदेशी उत्पादन, रोजगारी र निर्यात आम्दानीमा उल्लेख्य योगदान पुर्याउन सक्छ।
