काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ अर्थात् बाइरोडबाट काठमाडौंमा पेट्रोलियम पदार्थसहित अत्यावश्यक सामग्री ल्याउने तयारी थालेको छ।
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको हो। यसअघि भोटेकोशी नदीमा आएको बाढीका कारण मुग्लिनको बाटो तीन दिनसम्म बन्द भएको थियो। सडक खुलेको केही समयमै कृष्णभीरमा सडक भासिएपछि यातायात फेरि प्रभावित भएको हो।
काठमाडौंमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरेको जनाएको छ।
मन्त्रालयका अनुसार हाल कुनै पनि वस्तुको आयात रोकिएको छैन। मुग्लिन–नारायणगढ सडक अवरुद्ध भए पनि अन्य वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु काठमाडौं ल्याउने व्यवस्था भइरहेको छ।
विशेषगरी पेट्रोलियम पदार्थको आपूर्तिलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ। हेटौँडा हुँदै त्रिभुवन राजपथबाट पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री काठमाडौं ल्याउने विकल्पमा काम भइरहेको मन्त्रालयले जनाएको छ।
सडक अवरोधका कारण आपूर्ति प्रणालीमा थप दबाब नपरोस् भनेर मन्त्रालयले वैकल्पिक मार्ग र ढुवानी व्यवस्थालाई सक्रिय बनाएको हो।
